वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

आठौं राष्ट्रिय खेलकुद :: आजको पुरा अपडेट

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ ।    

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बैशाख २, बर्दिया ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।
महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए ।

हक्की: रमनको ह्याट्रिकमा पुलिसको सहज जित

रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।
समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ । समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
महिलामा गण्डकी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । गण्डकीले प्रदेश २ लाई २–० गोलले पराजित ग¥यो । सविना पुन राना र करुणा दर्लामी मगरले गोल गरे । यो समूहबाट अर्को टोलीको टुंगो लाग्न बाँकी छ । मंगलबार हुने प्रदेश १ र प्रदेश २ बीचको विजेता सेमिफाइनलमा पुग्ने छ ।
समूह ‘ए’ को लिग खेलमा आर्मी र प्रदेश ७ ले १–१ गोलको बराबरी खेले । प्रदेश ७ की अनिता श्रेष्ठले २७ औं मिनेटमा गोल गरिन् । ४८ औं मिनेटमा आर्मीकी दिलकुमार घलेले बराबरी गोल फर्काइन् । बराबरीसंगै गोलअन्तरका आधारमा प्रदेश ७ विजेता तथा आर्मी उपविजेताका हैसियतले सेमिफाइनल पुगे ।

साइक्लिङ: ओकश र लक्ष्मी पहिलो

आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।
गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए ।
४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे । एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए ।

बास्केटबल: सेमिफाइनल समीकरण पूरा

आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।
लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले हराए । प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनिता भण्डारीले १७ र प्रहरीकी एलिशा मल्लले १५ स्कोर गरे ।
पुरुषतर्फ प्रदेश ३, आर्मी, प्रहरी र गण्डकी सेमिफाइनलमा पुगे । प्रदेश ३ ले एपीएफलाई ६०–५१, आर्मीले प्रदेश १ लाई ७६–५५, प्रहरीले प्रदेश ५ लाई ६८–४२ र गण्डकीले सुदूर पश्चिम प्रदेशलाई ७७–४४ ले हराए । प्रदेश ३ का सदीश प्रधानले १९, आर्मीका आयुश सिंहले १६, प्रहरीका रितेश मगरले १७ र गण्डकीका सुदीप कार्कीले २१ अंक जोडे । सेमिफाइनलमा प्रहरीको भेट आर्मीसंग हुनेछ भने प्रदेश ३ ले गण्डकी विरुद्ध खेल्ने छ ।

स्क्वास: कृष्णाद्वारा भावना पराजित

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए ।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन् । विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए । दुवै प्रदेश ३ का हुन् ।
पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।

जुडो: दोश्रो दिन आर्मीलाई चार स्वर्ण

आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ । दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते ।
पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउदै स्वर्ण जिते ।
महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए । फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए ।

गल्फ

आठौं राष्ट्रिय अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन। उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारेका हुन्।टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे।शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेकाछन।युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।
महिलातर्फ १६ ओभर ८८ अंककाससथ प्रतिभा राई शीर्षस्थानमा रहदा कशमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन । टिम ईभेन्टसमा प्रदेश एक १४४ अंक सहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन।तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

बुद्धिचाल: सुजना अगाडि

आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा छैटौं चरणको खेल सकिँदासम्म आर्मीकी सुजना लोहनी ६ अंकसाथ शीर्ष स्थानमा छिन् ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् । पुरुषमा ६ चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन् । उनीहरुलाई समान ४.५–४.५ अंक जोडेका प्रहरीकात्रय मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।

कबड्डी

आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल यात्रा तय गरे । पुरुष÷महिला दुवैमा एक–एक लिग खेल हुने बाँकी छ । उक्त खेलसंगै मंगलबार सेमिफाइनल पनि हुनेछ ।

बक्सिङ : नेपाल आर्मीलाई ४ स्वर्ण 

आठौं राष्ट्रिय खेलकुदअन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले ४ स्वर्ण जितेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको पुरुषतर्फको फाइनलमा सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए । पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चूमे ।
त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । पूनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन् ।
सोमबारै सम्पन्न पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएपÞmका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन् । पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पूरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन् ।

ओलम्पिक टर्च लाईट लुम्बिनीमा

आठौं राष्ट्रिय खेलकुदको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ । प्रदेश नम्बर १ को बिराटनगर बाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा सुरु भएको थियो । बिराटनगरमा यस अघि राष्ट्रिय खेलकुदको सातौ सस्करण आयोजना भएको थियो । बिराटनगरबाट टर्च लिएर हिडेका चार जना ओलम्पियनहरु जीतबहादुर केसी, डम्बर कुँवर,, विकास राना मगर र मेनुका राउत सोमबार लुम्बिनी आईपुगेका हुन् ।  चारै जना ओलम्पियनहरुले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको बिश्वशान्ति दीपको ज्योति ओलम्पिक टर्चमा प्रज्वलीत गर्दै  लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तब्य तर्फ प्रस्थान गरेका थिए । यस अघि राष्ट्रिय खेलकुद प्रतियोगिताको धनगढीमा सम्पन्न छैठौ सस्करणमा पनि बैकुन्ठ मानन्धर सहितका ५ ओलम्पियनहरुले शान्ति दीपको ज्योति धनगढी सम्म पुरयाएका थिए ।
लुम्बिनीबाट शान्ति दीप ज्योति सहितको ओलम्पिक टर्च बोकेर ओलम्पीयनहरु ५ गते प्रदेश नम्बर पाँचको नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् । उक्त टर्चलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहा रहेको ज्योतिमा प्रज्वलित गरेपछि आठौ राष्ट्रिय खेलकुदको विधिवत सुरुवात हुने राष्ट्रिय खेलकुदको प्रचार प्रसार उप समितिका संयोजक रोहित दाहालले बताए । यसअघि ओलम्पिक टर्च प्रदेश १ को बिराटनगर, २ को जनकपुर, ३ को हेटौडा, चितवन, प्रदेश ४ को पोखरा, ५ को लुम्बिनी, भैरहवा, बुटवल पुगेको थियो । अब टर्च प्रदेश ६ को सुर्खेत , प्रदेश ७ को धनगढी हुदै ५ गते नेपालगन्ज पुग्ने छ  । ओलम्पिक टर्च लाईट सातै प्रदेशका राजधानी तथा मुखय शहरमा परीक्रमा गराईरहीएको छ ।
प्रतिक्रिया दिनुहोस्:


Loading...