वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

मरेको अवस्थामा जमिनमूनि भेटियो बर्दिया राष्ट्रिय निकुञ्जको पाटे बाघ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ ।    

राजापुर, बर्दिया ।
केही दिन अघि मात्र बाघलाई कारले ठक्कर दिएर सख्त घाईते बनाएको घटना सेलाउन नपाउदै बर्दिया राष्ट्रिय निकुञ्जको अर्को एउटा वयस्क पाटे बाघ मरेको अवस्थामा भेटिएको छ । मरेको बाघ गेरुवा गाउँपालिका-४ मा जमिनमूनि गाडिएको अवस्थामा फेला परेको हो ।
खेतमा बँदेललगायतका वन्यजन्तुका लागि थापेको करेन्टको पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका ४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमूनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । बाघ तीनदेखि चार दिन अघि मरेको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटेबाघ करेन्ट लागेर मारिएको र बाघ मरेपछि स्थानीयले जमिनमूनि गाडेको भन्ने गोप्य सूचनाका आधारमा उत्खनन गरी निकालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
बाघ कसरी मरेको भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट पछि जानकारी हुने भएकाले थप अनुसन्धान सुरु गरिएको उनले बताए। निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले करेन्ट लागेर जमिनमूनि गाडिएको बाघलाई उत्खनन गरी निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याएको छ । करेन्टको पासो लगाएर बाघ मार्ने र मरेको बाघ जमिनमूनि गाडेको सन्दर्भमा अनुसन्धानका लागि स्थानीय चार जनालाई निकुञ्ज प्रशासनले पक्राउ गरेको छ । बाघ कसरी मारिएको भन्नेबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।
केही वर्ष अघि बर्दियाको राजापुर र कर्मलामा स्थानीयले थापेको करेन्टको पासोमा परेर दुईवटा जंगली हात्ती पनि मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...