वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

सम्झौता तत्काल कार्यन्वयन गर्न माग गर्दै बर्दियाका मुक्त कमलरीहरुले बुझाए ज्ञापन पत्र

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस ५, २०७५ ।    

राजापुर,बर्दिया।
सरकारले कमलरी मुक्त घोषणा गर्दा गरिएका सम्झौता कार्यान्वयन नगरेको भन्दै बर्दियाका मुक्त कमलरीहरुले आज राजापुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । सरकारले कमलरी मुक्त घोषणा गर्दा गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न मुक्त कमलरीहरूले माग गर्देै राजापुर नगरपालिकाकी उप प्रमुख मनकला चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन।
वि सं २०५७ साल साउन २ गते कमलरी मुक्त गरिए पनि १९ वर्षसम्म पनि मुक्त कमलरीहरूको पुनर्स्थापन हुन सकेको छैन । मुक्त कमलरीहरूले गरेका पटक पटकका आन्दोलनपछि सरकारले १० बुँदे सम्झौता गरी उनीहरूका माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो।
तर, साढे पाँच वर्ष बितिसक्दा पनि सरकारले सम्झौता कार्यान्वयन गर्नेतर्फ बेवास्ता गर्दा पुनःमालिकको घरमा काममा फर्किन बाध्य हुन थालेको भन्दै मुक्त कमलरीहरूले तत्काल सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। मुक्त कमलरी विकास मञ्च बर्दियाले सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै उप प्रमुख चौधरीलाई विभिन्न आठ बुँदे मागपत्र बुझाएको हो ।
मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष कर्मसिता चौधरी नेतृत्वको एक टोलीले उप प्रमुख चौधरीलाई मागपत्र बुझाउंदै मुक्त भएका र पुनः मालिकको घरमा काम गर्न बाध्य कमलरीहरुको तत्काल उद्धार र पुनसर््थापना गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष चौधरीले कमलरी मुक्तिको लागि नेपाल सरकारसंग २०७० साल जेठ २४ गते भएको १० बुँदे सम्झौता अविलम्व कार्यान्वयन गर्न चौधरी मार्फत स्थानिय सरकार हुदैँ प्रदेश सरकार र संघिय सरकारलाई आग्रह गरेकी छन् । यस्तै मुक्त कमलरीहरूले मागहरु जायज रहेको भन्दै उप प्रमुख चौधरीले ज्ञापन पत्र बुझ्दै मुक्त कमलरीहरूले गरेका विभिन्न आठ बुँदे माग पत्रको विस्तृत अध्ययन गरेर मुक्त कमलरीहरूले गरेका मागहरु सम्बोधन गर्न राजापुर नगरपालिका तत्पर रहेको र स्थानिय सरकार हुदैँ प्रदेश सरकार र संघिय सरकार समक्ष उनीहरुको मागलाई कार्यन्वन गर्नका लागी आफुले सरोकारवाला निकाय सम्म पहल गरिने प्रविद्धता जनाएकी छन ।
प्रदेश न . ५ र सुदूरपश्चिम प्रदेशका पाँच वटा मुक्त कमलरी प्रभावित जिल्लामा गरी झण्डै १३ हजार मुक्त कमलरी रहेका छन्। बर्दिया २ हजार ८ सय ३८ जना मुक्त कमलरी रहेका छन् । जसमा सबैभन्दा धेरै दाङमा ५ हजार १ सय ९७ जना रहेका छन् भने सबैभन्दा कम बाँकेमा ७ सय ६३ जना रहेका छन्। त्यसैगरी, कैलालीमा ३ हजार १ सय ६९, र कञ्चनपुरमा ९ सय २ गरी कुल १२ हजार ८ सय ६९ जना मुक्त कमलरी रहेको तथ्यांक छ ।
अध्यक्ष चौधरीले मुक्त कमलरी घोषणा गरेपछि कमलरी राख्नु दण्डनीय अपराध मानिएको अवस्थामा हाल पनि कतिपय व्यक्तिले कमलरी र बालश्रमिक राखिरहेकोले उनीहरूको तत्काल उद्धार र पुनर्स्थापना गर्न आग्रह गरिन्। अहिले पनि कञ्चनपुरमा ६, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा ४ र दाङमा १८ जना गरी ७९ जना बालश्रमिक रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...