वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

भेरी–बबई डाइभर्सनको लागत दोब्बर

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ ।    

लक्ष्मण ढुंगाना, बर्दिया।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको संशोधित गुरुयोजना पारित भएको छ । गुरुयोजनालाई संशोधन गरी आयोजनाअन्तर्गत निर्माण गरिने अन्य संरचनाहरूको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने अनुमानित बजेटसहितको दोस्रो संशोधित खरिद गुरुयोजना हालै पारित भएको हो । यसअघि सन् २०१२ को गुरुयोजनाअनुसार डिजाइन गरी काम हुँदै आएकोमा हालको निर्माण कार्य, दररेट, लागत अनुमानसहित अद्यावधिक गरी पुनरावलोकन गरिएको हो । हालै संशोधन गरिएको आयोजनाको कुल लागत अनुमान भने सुरुभन्दा दोब्बर बढेको छ । आयोजना निर्माण थाले यता सुरुको लागत अनुमान १६ अर्ब ४३ करोड रहेकोमा भर्खरै मात्र पारित भएको दोस्रो संशोधित खरिद गुरुयोजनामा सो रकममा दोब्बर वृद्धि गरी ३३ अर्ब १९ करोड ६६ लाख कायम गरिएको आयोजनाले जनाएको छ ।
सुरुमा सुरुङ निर्माणलाई केन्द्रबिन्दुमा राखेर बजेट इस्टिमेट गरिएकोमा हाल आयोजनाअन्तर्गत निर्माण गरिने हेडवक्र्स, पावरहाउस, हाइड्रो र इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, जग्गा अधिग्रहणलगायत विभिन्न महत्वपूर्ण पूर्वाधारको कार्य निर्माण गर्नुपर्ने हुँदा लागत रकम अस्वाभाविक रूपमा बढी देखिएको आयोजनाको भनाइ छ ।

आयोजनाको दोस्रो संशोधित खरिद गुरुयोजना स्वीकृत भएपनि टनेल निर्माण सकिनै लाग्दा समेत सिभिल निर्माणको खरिद कार्यको लागि डाइभर्सन हेडवक्र्स तथा पावरहाउसको डिजाइन पुनरावलोकन तथा लागत अनुमानको विभागबाट स्वीकृति प्राप्त हुन नसकेको आयोजना प्रमुख सञ्जीव बरालको भनाइ छ ।
प्रमुख बरालले सिभिल निर्माणको खरिद कार्यका लागि निर्माण गरिने संरचनाको डिजाइन, ड्रइङ र लागत अनुमान स्वीकृतिको लागि २ महिनाअघि विभागमा पठाइएको बताए । त्यस्तै हालको दररेटअनुसार लागत तथा अन्य विस्तृत कार्यहरूको अपडेट गरी खरिद प्रक्रियाका लागि आवश्यक कागजातसहित विभागमा पठाए पनि निर्णय प्रक्रियामा ढिलाइ हुँदा काम अघि बढाउन समस्या भएको उनको भनाइ छ । “सिँचाइ विभागले बाँध र विद्युत् गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गरिरहेको छ, विभागवाट स्वीकृत हुँनेवित्तिकै अन्तर्राष्ट्रियस्तरको खरिद कार्य सुरु हुन्छ ।
आयोजनाअन्तर्गत हाल सुरुङ निर्माण कार्य उत्साहजनक रूपमा अघि बढे पनि भेरी नदीमा डाइभर्सन हेडवक्र्स निर्माण, ४६.८ मेगावाट जलविद्युत् उत्पादनको लागि जलविद्युत् गृह तथा अन्य सम्बन्धित संरचनाअन्तर्गत सर्ज साफ्ट, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा वितरण प्रणालि निर्माण, भेरी कोरिडर तथा बबई क्षेत्रमा विभिन्न सामाजिक क्रियाकलाप र पूर्वाधार निर्माण कार्यहरू भने अझै सुरु गर्न बाँकी छन् ।
विभागवाट स्वीकृत भएर तीब्र गतिमा काम भए २०८० भित्र आयोजना सम्पन्न हुने भेरीबबई डाइभर्सन आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट ईन्जिनियर कृष्णप्रसाद उपाध्यायले बताए । “अहिले सबैको ध्यान टनेल निर्माणमै केन्द्रित छ,” उनले भने, “मुख्य संरचना निर्माण कार्य बाँकी नै रहेकोले चाँडै नै विभागको स्वीकृतिसँगै बिनाअवरोध काम हुन जरुरी छ ।”
कारोबारबाट

प्रतिक्रिया दिनुहोस्: