वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

सडक दुर्घटनाका कारण मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन २६, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया
केही महिना अघि धनगढीबाट काठमाण्डौ जाँदै गरेको बसले बर्दिया निकुञ्ज क्षेत्रमा एउटा वयस्क पाटेबाघलाई ठक्कर दियो । बसको ठक्करबाट बाघ घटनास्थलमै मर्‍यो । यसैगरी निकुञ्जको कर्णाली चिसापानी आम्बासा सडकखण्डमा केही महिना अघि रा २ प ४२३४ नम्बरको मोटरसाइकलमा जरायो ठोक्कीयो । मोटरसाइलमा सवार घाइते भए । जरायो घटनास्थलमै मर्‍यो ।
निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा महिनै पिच्छे यस्ता दुर्घटनाहरु हुने गर्छन् । दुर्घटनाका कारण मानव र वन्यजन्तु दुबैको क्षती हुने गरेको छ । निकुञ्जका अनुसार अनुसार बर्दिया निकुञ्जमा सबै भन्दा बढी वन्यजन्तुको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । वर्ष दिनमा हुने घटना मध्ये ४१ प्रतिशत वन्यजन्तु सडक दुर्घटनामा परि मर्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार वर्ष दिनमा भुस्याह कुकुरको आक्रमणमा परि २२ प्रतिशत वन्यजन्तु मर्छन् । १२ प्रतिशत वन्यजन्तु प्राकृतिक कारणले मर्ने गरेका छन् । यसैगरि ८ प्रतिशत विरामीको कारणले, ६ प्रतिशत चोरीसिकारले, ६ प्रतिशत सिँचाई नहरमा खसेर मर्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । बाघको आक्रमणबाट ४ प्रतिशत र आपसमा जुधेर १ प्रतिशत वन्यजन्तु मर्ने गरेका छन् ।
दिउँसोको समय भन्दा राजमार्गमा रातीको समय वन्यजन्तु दुर्घटनामा पर्ने गरेको पाइएको छ । सडक दुर्घटनानै मृत्युको सबै भन्दा ठूलो कारण भएकाले वन्यजन्तुका लागि निकुञ्ज भित्रको राजमार्ग जोखिम मानिएको छ । रातीको समयमा निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा आवगमन गर्नु जनावर र मानिस दुबैका लागि खतरा मानिन्छ ।
राजमार्गमा तीव्र गतिमा सवारी चलाउँदा वन्यजन्तुलाई जोखिम बढेको निकुञ्जका कर्मचारी बताउँछन् । निकुञ्जका कुनैपनि बेला वन्यजन्तुले बाटो काट्न सक्ने भएकाले वन्यजन्तु सडक दुर्घटनामा पर्ने गर्छन् । सजगकताका लागि ठाउँठाउँमा सन्देशमुलक सुचना राखीएपनि सवारी चालकहरुले वेवास्ता गर्दा दुर्घटना हुने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज क्षेत्रभित्र राजमार्गमा सवारी साधनको गति बढी हुनाले यस्ता दुर्घटना हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् ।
रम्मापुरदेखि सैनवार पोष्ट र आम्बासादेखि कर्णाली चिसापानी पोष्टसम्मको निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग आवागमनका दृष्टिले अत्यन्त संवेदनशिल मानिन्छ । यस क्षेत्रमा बढी मात्रामा बाघ, हात्ती, जरायोलगाएतका वन्यजन्तु देखिने गर्छन । चालकले सावधानी नअपनाउँदा दुर्घटना हुने गरेको निकुञ्ज प्रशासनको भनाई छ ।’ निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारी भन्छन्, ‘राजमार्ग भित्र पर्ने निकुञ्जको संवेदनशिल क्षत्रमा सावधानी अपनाएर सवारी हाक्न अनुरोध गर्छै । तर चालकको लापरवाहीले गर्दा मानव र वन्यजन्तु दुबैको क्षती हुने गरेको छ ।
रातीको समयमा वन्यजन्तु वाहिर सडकमा निस्कने भएकाले रातीको समयमा आवागमन गर्दा बढी जोखिम हुन्छ । रातीको समयमा मोटरसाइकलमा आवागमन गर्ने यात्रुलाई राजमार्गको पोष्टमा खटिएका सेनाले रातीमा जोखिम हुने भन्दै यात्रा नर्गन अनुरोध गरेपनि मोटरसाइलवालाहरुले अटेर गर्ने गरेको निकुञ्जको भनाई छ ।
रातीमा हिड्नै पर्ने भए गती सिमित गरेर ठूला सवारीसाधनको पछिपछि लागेर गए दुर्घटनाको संभावना कम हुने सुरक्षा पोष्टका सेनाहरु बताउँछन् । सावरीसाधनको गती सिमित गरी दुर्घटना कम गर्न निकुञ्ज क्षेत्रमा जीप, टक र बस जस्ता ठूला सवारीसाधनलाई टाइमकार्डको व्यवस्था गरिएपनि यो प्रभावकारी हुन सकेको छैन ।
पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिने घटना न्यूनिकरणका लागि निकुञ्ज भित्रको राजमार्गमा ४० किमी प्रति घण्टा भन्दा बढि गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउ ठाउमा स्पीड ब्रेकर निर्माण गरिँदा उपयुक्त हुने बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् । यसैगरि वन्यजन्तु बढी ओहोरदोहेर गर्ने स्थान पहिचान गरि त्यस ठाउँमा अण्डरपास वा ओभरपास ब्रिज निमार्ण गरिए पनि दुर्घटनामा कमी आउन सक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: