वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

विविध कार्यक्रम गरी शहीद दिवस मनाईयो

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, माघ १६, २०७४ ।    

राजापुर, बर्दिया।
अमर शहीद श्री दशरथ चन्द मावि राजापुरमा आज शहीद दिवसको अवसरमा वृहत विविध कार्यक्रम सम्पन्न गरेको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा सप्ताहव्यापी कार्यक्रम गरी मंगलबार मुलुकभर शहीद दिवस मनाइएको हो । प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन मंगलबार राजापुरको विद्यालयस्थित शहीद दशरथचन्दको स्मारकमा माल्यार्पण समेत गरियो । राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद थारुले शहीद प्रति सच्चा भावले काम गर्न सके शहीद खुशी हुने भन्दै श्रद्धासुमन अर्पण गरेका थिए । आफु पनि यसै विद्यालयको विद्यार्थी भएकाले अमर शहीदका विद्यार्थीहरुले विभिन्न क्षेत्रमा पाएको सफलताले आफु पनि खुशी हुने गरेको बताए । राजापुरमा अव सञ्चालन हुने मेयर कपमा पनि राजापुर स्कुलकै विजेता भाईवहिनीहरुलाई विजयको टिका लगाउन आफु आतुर रहेको वताउदै पढाइका साथ साथै अतिरिक्त क्रियाकलाप र खेलकुद स्वस्थ जीवनमा आवश्यक रहेको जानकारी दिए । सो अवसरमा ज्ञातअज्ञात सहिद प्रति मौन धारण गरी शुरु गरिएको औपचारिका कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद थारु र प्रमुख अतिथि राजापुर नगर प्रमुख शिवप्रसाद थारु अन्य अतिथिहरुमा विव्यस सदस्य जगतराम थारु, अभिभावक नरेन्द्र जिसी, विद्यालयका शिक्षकहरु, कोठियाघाट साप्ताहिकका पत्रकार गान्दिप कायस्थ लगायतको उपस्थिति रहेको थियो । शहीद दिवसको अवसरमा आयोजित सप्ताह व्यापी खेलकुदका विजेता विद्यार्थीहरुलाई सभापति, प्रमुख अतिथि र विद्यालयमा गठन गरिएका हरेक प्रतियोगितात्मक विधाहरुको संयोजकहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित विद्यार्थी तथा महानुभावले शहीद स्मारकमा माल्यार्पण गरि शहीदहरूको सम्झना गरेका थिए । विद्यार्थीहरुले विभिन्न मनोञ्जनात्मक गीत तथा भेषभूषा झल्काउने नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक इनद्रकान्त झा ले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालय परिवार सहित उल्लेख्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै सुरसंगम कला केन्द्र, भुरिगाउँ बर्दियाको आयोजनामा बर्दियाको भुरीगाउँमा पनी विभिन्न कार्यक्रम आयोजना गरी ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा शहिद दिवस मनाइएको छ । देशको लागी आफ्नो ज्यानको बलिदानी दिने सम्पुर्ण शहीदहरुको सम्झनामा माल्यार्पण गरी शहीद दिवस मनाइएको सुरसंगम कला केन्द्रका अध्यक्ष खगेन्द्र नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्: