वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

लौटी थारुको जीवन : कमैयादेखि सांसदसम्म

        भावुक योगी   |   प्रकाशित मिति: बुधबार, माघ १७, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको भुरिगाउँ बजारबाट सदरमुकाम गुलरीया जाने हुलाकी सडक अन्तर्गतको झण्डै ८ किलोमिटर दक्षिणतर्फ शाहीपुर पुगेपछी मुक्तकमैया बस्ती पुगिन्छ । यही बस्तीको बनफोरुवा फाँटमा लौटी थारुको घर छ । लौटी थारु मुक्तकमैया अगुवा तथा समानुपातिक प्रदेश सांसद हुन ।

ठाकुरबाबा नगरपालिका शाहीपुरमा लौटी थारुको मुक्तकमैयाबाट पाएको तीन कठ्ठा मात्र जमिन छ । इट्टाको दिवाल, खर र माटोबाट बनाइएको खपराको छानो भएको सानो कच्ची घर छ । शितलहर चलेर चिसो बढेको थियो । श्रीमान र बुहारीसँगै मुक्तकमैया अगुवा तथा समानुपातिक प्रदेशसभा सांसद लौटी थारु आगो तापीरहेका थिए । समानुपातिक सांसदमा चयन भएको खुसी सँगै कसरी काम गर्ने भन्ने गफ चलिरहेको थियो ।

मुक्तकमैया बस्तीकी अगुवा लौटी थारु बनफोरुवा फाँटाकी अध्यक्ष, मुक्तकमैया पुनस्र्थापना केन्द्रकी केन्द्रीय सदस्य, चन्दकचटिया सामुदायिक वनकी अध्यक्ष, थारु समुदाय विकास मञ्चद्धारा गठन गरिएको उन्नति कृषक समूहकी अध्यक्ष, सौरामैँया कृषि सहकारी संस्थाको उपाध्यक्ष समेत हुन ।

बर्दियाकै अग्रणी शैक्षिक संस्था चुरे माध्यमिक विद्यायालयमा व्यवस्थापन समितिकी सदस्यको रुपमा समेत काम गरि सकेकी थारु बर्दियाबाट प्रदेश नम्बर ५ प्रदेशसभा समानुपातिक सांसदमा चयन  भएकी हुन । प्रदेशसभा सदस्यमा माओवादी केन्द्र पार्टीको थारु महिला कोटाबाट लौटी थारु समानुपातिक सांसद बनेकी हुन ।

लौटीका श्रीमान झिँगाराम थारु अर्काको घरमा कमैया थिए । २०५७ सालमा नेपाल सरकारले मुक्तकमैया घोषणा गरेपछि राजनीति सुरु गरेको बर्दिया अनलाईन संगको कुराकानीमा थारुले बताईन । मुक्तकमैया पुनस्र्थापनाका लागि काठमाडौं डेलिगेशनमा जाँदा सिंहदरबार अगाडी झडप हुँदा प्रहरीको कुटाइबाट घाइते भएर वेहोस अवस्थामा वीर अस्पताल पुग्नु परेको समेत सांसद थारुले सम्झिन ।

प्रौढ शिक्षा पढेर सामान्य लेखपढ मात्र जानेकी लौटी मुक्तकमैयाबाट नेतृत्व सम्हाल्दै राजनीतिक यात्रामा अघि बढेकी हुन । राजनीतिमा अगाडि बढ्न श्रीमान झिँगाराम थारु, दाइ चल्टुराम थारु र सांसद सन्तकुमार थारुले हौसला र साथ दिएको लौटीले बताईन । लौटीका श्रीमान, दुई छोरा, दुई बुहारी र दुई छोरी छन् । उनी समाजेवामा र राजनीतिमा लागिरहेकी छिन । उनका श्रीमान मुक्तकमैबाट पाएको तिन कठ्ठा जमिनमा अन्नबाली र तरकारी उब्जाउँछन । छोरा र बुहारी ज्याला मजदुरी गर्छन् । छोरीको विहे भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: