वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

राजापुरका किसानद्वारा सरकारी बीउ बहिस्कार

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, साउन ९, २०७५ ।    

लक्ष्मण ढुंगाना/(राजापुर) बर्दिया ।
अन्नभण्डार मानिने बर्दियाको राजापुरका कृषकहरूले यस वर्ष आफैंले उत्पादन गरेको धानको बीउ लगाएका छन । २ वर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको बीउमा ठगिएका कृषकहरू यसवर्ष भने आफ्नै बीउ बैंक मार्फत प्रसोधित बीउ लगाएर उत्पादन बढी लिने आशामा छन् ।
देशैभरका कृषकहरूलाई धान रोपाईको चटारो भएको बेला राजापुरमा करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । हरेक वर्ष खेतीपातीको समयमा कृषकहरूले गुणस्तरिय मल र बीउको मार खेप्दै आएका थिए । बजारवाट ल्याएको बीउमा गुणस्तरीयता नहुनुका साथै झन सरकारी निकायवाटै बाँडिएको उन्नत जातको भनिएको बीउमा १७ थरीका बाला लागेर ठगिएपछि कृषकहरू चिन्तित बनेका थिए । यसरी ठग्ने बागेश्वरी एग्रोसिड्स कम्पनी नेपालगंजलाई न त कारवाही गरिएको छ न त कृषकले क्षतिपूर्ति नै पाए । यसरी कृषकलाई बाँडिने अनुदानका नाममा ठगिन थालेपछि कृषकहरू आफंै बीउ उत्पादनतर्फ हौसिएर गणेशवावा प्रगतीशील कृषक समूहमार्फत सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द खोलेका हुन् ।
केन्द्रवाट ल्याएको बीउ एकदमै गुणस्तरीय भएकोले त्यही बीउवाट खेती गरिएको राजापुर ४ शान्तिपुरकी कृषक लिलाकुमारी चौधरीले बताइन् । बीउको गुणस्तरियताका साथै उत्पादन लागतमा पनी कमी आएको उनको भनाइ छ । उनका अनुसार पहिले पहिले एक बिघामा एक क्वीन्टल बीउ आवश्यक पर्नेमा अब भने ३५ किलोले पुग्ने गरेको छ ।
राजापुर ८ का सुकदेव टमटाले कृषकहरू आफैले उत्पादन गरेको बीउ भएकोले पुर्णतया विस्वासत रहेको बताए । बीउमा कुनै समस्या देखिए गुनासो गर्ने ठाउँ भएको उनको भनाइ छ । त्यसो त कृषकहरूले उत्पादन गरेको बीउ बेच्नुपरेमा पनी बजारको समस्या छैन । बीउ प्रशोधन केन्द्रवाट लिएर उत्पादन गरेको बीउ बेच्नुपरेमा केन्द्रले बजारको भन्दा १५ देखि २२ प्रतिशतसम्म बढी मूल्यमा खरिद गर्ने गरेको सामुदायिक बीउ प्रशोधन केन्द्र राजापुरका सचिव पहारी चौधरीले बताए ।
कुनै किसानले यहाँवाट लगेको उन्नत बीउ उत्पादन गर्छ भने बजारभन्दा १५ प्रतिशत बढी, प्रमाणित बीउमा १८ प्रतिशत बढी र मूल बीउमा बजारको भन्दा २२ प्रतिशत बढी मुल्यमा केन्द्रले खरिद गर्ने गरेको उनको भनाइ छ । राजापुर क्षेत्रमा करिब १६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यहाँका लागि आवश्यक पर्ने बीउका साथै अन्य क्षेत्रमा केन्द्रले यसवर्ष करिव १ सय ६० मेट्रिक टन बीउ विक्री गरिसकेको जनाएको छ । यस क्षेत्रमा करिब ८५ प्रतिशत मकवानपुर धान खेती हुने गरेको बताउँदै कृषकहरूको मागअनुसार बीउ उत्पादनमा लागेको गणेशवावा प्रगतीशील कृषक समुहका अध्यक्ष शर्मा चौधरीको भनाइ छ । आफ्नो लागि आवश्यक पर्ने बीउका लागि कृषकहरू आफै उत्पादनमा लागेपछि कृषकहरूले एकातिर गुणस्तरिय बीउ उत्पादन गर्न पाएका छन् भने अर्कोतर्फ उत्पादनमा समेत बृद्धि हुने गरेको छ ।
-कारोबारबाट

प्रतिक्रिया दिनुहोस्: