वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

यी कारणहरु जसले बर्दियाको चुनावी माहोल बदल्दिन सक्छ…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १७, २०७४ ।    

प्रतिनिधि सभा र पहिलो पटक हुन लागेको प्रदेश सभाको चुनावको मतदान गर्ने दिन आउन अब केही दिन मात्र बाँकी छ । दलहरु अहिले आफ्ना उम्मेदवार र कार्यकर्तासहित प्रचारप्रसारमा व्यस्त रहेका छन । भोट माग्दै उम्मेद्वारहरु टोलटोलमा पुगेको बताउदै गर्दा स्थानिय मतदाताहरुमा केही महिना अघि सम्पन्न भएको स्थानिय तहको चुनावको जती पनि माहोल र उत्साह देखीएको पाईन्न । जनता एक त मंसिरको महिना भएकोले धान भित्राउने तयारीमा व्यस्त छन र बाहिर चुनावी माहोलमा भिज्न सकेको देखिदैन भने अर्को मुख्य कारण भनेको उम्मेद्वारहरुको पुरानै अनुहार पनि हो ।
बर्दिया थारु बाहुल्य जिल्ला हो । यहाँका हरेक उम्म्द्वारहरुलाई थाहा छ कि यो समुदायको भोट बिना जित सुनिश्चित छैन। मुख्यत: सुकुम्बासी, मुक्त कमैया, द्वन्द पीडित, बाढी पीडित आदी बिभिन्न बहानामा बिभिन्न आश्वासन सहित अहिले हरेक उम्मेदवार उनिहरुको ठुलो मत आफ्नो पक्षमा ल्याउन तल्लिन छन।
यस पटक उम्मेद्वारहरु घरदैलो घरघर भेटघाट भन्दा पनि टोल भेला, गाउँ भेला, चोक चौतारोमा भेट्घाट र आमसभाबाट भोट मागिरहेका छन । कतिपय मतदाताहरुलाई चुनाव आएकै हो र भन्ने अत्तोपत्तो छैन भने कतिपय रेडियो टिभी हेरेकै भरमा वा साथीभाईले भनेको भरमा चुनाव आएको रहेछ भन्नेमा छन। ‘जुन उत्साह जनतामा हामी लड्दा थियो, अहिले त्यस्तो खासै देखिदैन’ केही स्थानिय जनप्रतिनिधी स्विकार्छन।

दिन जती नजिकैदै छ; उती उम्मेदवार र कार्यकर्ताहरु तात्तिनु स्वभाविक नै हो । पछील्लो समय व्यक्तिगत आरोपप्रत्यारोपको तहमै उत्रेर प्रचारबाजी चलिरहेको छ, चाहे आमसभा भेलामा होस् वा सामाजिक सन्जालमा ।
चुनावमा कसले बाजी मार्ला भनेर चुनावको तरङले छोएकाहरु बिच टोलछिमेकमा अड्कलबाजीहरु पनि चलिरहेका छन । बर्दियाका दुई प्रतिनिधि तहमा ‘हेवी वेट’का नेताहरुको प्रतिश्पर्धाका कारण पनि यो चासो को बिषय बनेको हो । र यसै कारण उनै दलका प्रदेश सभाका उम्मेदवार मात्र होइन अन्य दलका प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरु पनि ओझेलमा परेका छन । खैर जती ‘हेभी वेट’ भएपनि, नभएपनि सबै उम्मेद्वारहरु आफ्नो जित निकाल्न अहिले ‘ब्याटल फिल्ड’मा छन ।
सबै उम्मेद्वारहरु आ-आफ्नो विजय हुने दाबी गरिरहेको भए पनि मुख्यत: बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बिच प्रतिश्प्रर्धा हुने प्रष्ट देखिन्छ ।

पछिल्लो समय बर्दियालाई बामपन्थीहरुको किल्लाको रुपमा हेरिने गरिन्छ । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र एमालेको मतलाई आधार मानेर हेर्ने हो भने बाम गठबन्धनको जित निश्चित जस्तो देखिए पनि माहोल यसै भन्न सकिने अवस्थाको छैन ।

जितका दाबीहरुलाई एकापट्टी राखेर चाहे बाम गठबन्धन होस् वा लोकतान्त्रिक गठबन्धन दुबैलाई उनिहरुको मत काट्ने धेरै तत्वहरु छन जसले उनिहरुको आफ्नो ‘क्याल्कुलेसन’मा धेरै मत मतान्तर ल्याउन सक्छ । प्रस्तुत छ केही त्यस्ता तत्वहरु जसले मंसिर २१ गते हुने मतदानलाई प्रत्यक्ष असर पार्न सक्छ:
मुक्त कमैया, सुकुम्बासी ( समग्रमा थारु समुदाय):
जिल्लाको करिब ५३ प्रतिशत जनसंख्या थारू जातिको छ । चुनाव जित्नका लागि थारू समुदाय र सुकुम्बासी तथा मुक्तकमैयाकै मत निर्णायक हुने ठहर दलहरुको छ। र सोही अनुरुप उम्मेद्वारहरु थारू समुदाय, मुक्त कमैया र सुकुम्बासी स्थलमा पुगेर जसरी हुन्छ उनिहरुलाई रिझाउने रणनीतिमा छन् ।

कटिबद्द कार्यकर्ता /अन्तर कलह:
पछिल्लो समय दलहरु अबिर जात्रा गरेर अन्य दलका कार्यकर्ता र उम्मेद्वारनै आफ्नोमा भित्र्याउने सम्म गरिरहेका छन । तर केही यस्ता कतिबद्द कार्यकर्ताहरु छन जो आफ्नो पुर्ख्यौली दल वा आस्थाका भरमा मतदान गर्ने गर्छन् । उनिहरु आफ्नो मत बदल्दैनन। र अर्को तर्फ आफ्नै कार्यकर्ता बागी उम्मेदवारी हुनु, थामथुम पारेर त्यसलाई सुल्ज्याउनु र यसै परिपेक्षमा अन्तरघात, गुटउपगुट जस्ता कुराहरु दलहरुलाई हानिकारक देखिन सक्छ ।

बैकल्पिक सोच:
अहिले बैकल्पिक दल वा सोचको अवधारणा अघी बढीरहेको बेला बर्दियामा पनि त्यसको प्रभाव देखिन्छ । बाबुराम भट्टराईको नयाँ शक्ती देखी विविकशिल साझा पार्टी यसैको प्रडक्ट हुन । यो सोचले अहिलेका युवाहरुमा निकै प्रभाव पारेको देखिन्छ । पुराना दलहरुलाई यो वैकल्पिक सोच वा दलले धक्का दिन सक्छ । कुनै पनि पक्षको मत यता खसेको खण्डमा अप्रत्यासित नहुन सक्छ अर्थात उनिहरु नयाँपन चाहन्छन भनेर पनि बुझ्न सकिन्छ ।
बिकास योजना:
वस्तुगत रुपमा जनता जिल्लामा बिकास चाहन्छन । मुख्यत: बाटोघाटो, खानेपानी, कृषि सम्बन्धी विकास योजनाहरुको पर्खाइमा बर्दियाबासी रहेको पाईन्छ । त्यसैले पनि बिकासको स्पश्ट भावी योजना प्रस्तुत गर्न सक्ने र पहिले गरेको बिकासको मुल्यांकन गरेर भोट खसाल्ने मतदाताको मानसिकता स्थानियको छ ।

सामाजिक सन्जालको प्रभाव:
सामाजिक सन्जालहरु अहिले सर्वसुलभ प्रचारको माध्यम बनेको छ । विशेषत: फेसबुकमा हरेक उम्म्द्वारको अकाउण्ट खोलेर अहिले बिभिन्न प्रचारबाजी गर्ने क्रम चलिरहेको छ । फेसबुकमा हुने विभिन्न तर्क बितर्कहरुका बावजुत फेसबुकमा पहुँच भएका मतदाताहरुले आफ्नो मतको निर्णय बदल्न सक्छन । त्यस्तै विदेशमा रहने आफन्तहरुले घरमा यस्लाई हाल्नु भनेर भन्न सक्ने अवस्था पनि रहन्छ ।

नो भोट / निराशा:
जब जब चुनाव आउछ, जहिले पनि उही अनुहार ! अचेल सामाजिक सन्जालमा नै मतदाताहरुले आफ्नो दिक्दारी पोख्ने पनि गरेका छन- नो भोट भनेर । यसले उम्मेदवारहरुलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

गत असारमा भएको काङ्ग्रेस-माओबादी सहकार्य:
स्थानिय तहमा काँधमा काँध जोडेर हिंडेका काङ्रेस र माओवादी अहिले छुट्टीएका छन तर स्थानिय तहमा काग्रेसले माओबादीलाई र माओवादीले काङ्रेसलाई गरेको सहयोग अहिले तिर्ने कि नतिर्ने भन्ने कुरा भलै पार्टीगत नहोला तर व्यक्तिगतरुपमा बढ्न सक्ने कुरा केही उम्मेद्वारहरुले गरेको उद्घोषबाट पनि बुझ्न सकिन्छ।

त्यस्तै निर्वाचनको मुखमा आएर गरिएका छिटफुटे बिकास, आर्थिक प्रलोभन, आश्वासन र उम्मेद्वारको स्थानिय र राष्ट्रिय व्यक्तित्वले पनि मतदातामा प्रभाव पार्ने देखिन्छ ।

कहाँ कति मतदाता ?

असारमा सम्पन्न स्थानिय तह निर्वाचनको समयमा २ लाख ५३ हजार १८८ मतदाता संख्या थियो भने हालै (भदौसम्म) जिल्ला निर्वाचन कार्यालय बर्दियाले स्थानिय तहसंग समन्वय गरी संचालन गरेको मतदाता नामावली संकलनबाट १९ हजार २८९ मतदाता थप गरी २ लाख ७२ हजार ४७७ पुर्‍याएको छ ।
बर्दिया प्रतिनिधि सभा क्षेत्र नं १ मा ३८ वटा वडाहरुमा १ लाख ३९ हजार ३६२ जना र क्षेत्र नं-२ अन्तरगत ३७ वटा वडाहरुमा १ लाख ३३ हजार ११५ जना गरी जिल्लामा कुल २ लाख ७२ हजार ४ सय ७७ जना मतदाताहरु रहेको जिल्ला निर्वाचन आयोग बर्दियाको पछिल्लो तथ्यांक छ । कार्यालयका अनुसार कुल मतदाता मध्य १ लाख ३८हजार ०४३ महिला छन भने १ लाख ३४हजार ४२८ जना पुरुष मतदाता रहेका छन । त्यस्तै निर्वाचन आयोग बर्दियाले दिएको तथ्यांक अनुसार प्रदेश सभाको क्षेत्र नं १ (क) मा ७० हजार १ सय ९३ जना, १(ख) मा ६९ हजार १ सय ६९ जना र क्षेत्र नं २ (क)मा ७०हजार ९सय ५५ जना, २(ख) मा ६२हजार १ सय ६० जना मतदाताहरु रहेका छन ।

तर यो सबै संख्याको मत मतदान केन्द्रमा खस्छ भन्ने होइन । स्थानिय तह निर्वाचनमा झन्डै ७३ प्रतिशत मत खसेको थियो ।

स्थानिय तहगत मतदाता:

 

प्रतिक्रिया दिनुहोस्: