वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

भुरिगाउँ तेलपानी सडक: ट्रयाक खुल्यो, पुल अझै बनेन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, साउन १०, २०७४ ।    

बर्दिया ।
दुई छिमेकी जिल्ला सुर्खेत–बर्दिया जोड्ने ‘फास्टट्रयाक’ नहुँदा यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत) को लामो यात्रा गर्न बाध्य छन ।

उत्तर–दक्षिण जोड्ने उद्देश्यले आर्थिक बर्ष ०६४ , ६५ देखि तेलपानी–भेरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे थालिए पनि ठेकेदारको लापरबाहीले ‘फास्टट्रयाक’ पूरा हुन नसकेको हो ।

सडकको ट्रयाक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको पाँच वर्ष बितिसक्दा समेत अधुरै छ । जसले गर्दा सुर्खेत–बर्दिया सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन ।

बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ । ०७१ को बाढीले पिलर बंग्याएको भन्दै ठेकेदार निर्माणबाट पन्छिन खोजेको स्थानीयवासीको आरोप छ । रानीघाटका प्रेम प्रसाद पौडेलले पुल अलपत्र पर्नुमा ठेकेदारसँगै सडक डिभिजन कार्यालय पनि दोषी रहेको भन्दै आक्रोश पोख्नुभएको छ ।

पुल नहुँदा बर्दियाका यात्रु मात्रै होइन हरिहरपुर, तरंगा र वीरेन्द्रनगरका बासिन्दा समेत मर्कामा छन् । बराहताल गाउँपालिका २ का प्रेमबहादुर ओलीले आफूहरूलाई वीरेन्द्रनगर–कोहल्पुर हुँदै बर्दिया, कैलाली जानुभन्दा यो सडक खण्ड धेरै छोटो पर्ने बताउनुभयो । छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन ।

पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आर्थिक बर्ष ०६८ ६९ मा सम्झौता भएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजनाअन्तर्गत हालसम्म दुईवटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ ।

कम्पनीले ०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो । डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ ।

कार्यालयका इन्जिनियर दीपक रजकले म्याद थप गरिसकेकाले मनसुन सकिने बित्तिकै काम थाल्न ताकेता गर्ने बताउनुभयो । थपिएको म्यादभित्र निर्माण सम्पन्न नगरे आवश्यक कारबाहीसहित ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने भन्दै कार्यालयले ताकेता दिँदै आए पनि ठेकेदारले निर्माणपूर्वको तयारी थालेको छैन । यसले गर्दा थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्नेमा स्थानीय बासिन्दाको आशंका छ । निर्माण कम्पनीले पहिलो किस्ताबापत १ करोड ७६ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किलोमिटर दूरीमा पर्छ । सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ । तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ । कम्पनीले जम्मा ७६ करोड रुपैयाँमा कामको जिम्मा लिएको हो । ३० महिनाको अवधिमा सम्पन्न गर्नु पर्ने काम त्यस अघिनै सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: