वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

भुरिगाउँमा १ सय ८५ जनाको मोतिबिन्दु अप्रेशन

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, माघ २८, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
ठाकुरबाबा नगरपालिका– ६ शिवपुरकी लक्ष्मी खड्का लामो समयदेखि दाहिने आँखाको समस्याबाट पिडित थिइन् । दाहिने आँखाले राम्रोसँग काम गर्न छाडेपछि उनीलाई घरायसी काममा निकै बाधा परेको थियो । कमजोर आर्थिक अवस्थाले शहरमा गएर उपचार गराउन नपाएकी लक्ष्मीलाई आफनै गाउँघरमा आँखा जाँच तथा अप्रेशन शिविर आउँदा भगवान नै आए जस्तो भयो ।


शिविरमा आँखा जाँच गरेपछि चिकित्सकले उनीलाई आँखामा मोतिबिन्दु भएको बताए । आइतबार उनीले शिविरमै मोतिबिन्दुको निशुल्क अप्रेशन गराइन् । अप्रेशन गरेर शिविर स्थलमा आराम गर्दै गरेकी लक्ष्मीले भनिन्, ‘निकै खुशी भएको छु । फेरी संसार देख्न पाए । गाउँमा शिविर नआएको भए त पिँडा बोकेर बस्नु पथ्र्यो होला । ’ उनी जस्तै मोतिबिन्दुबाट पिडित ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीका जगत खनाल पनि शिविर स्थलमा निकै खुशी देखिन्थे । उनले पनि शिविरमा मोतिबिन्दुको अप्रशन गराएका थिए । लामो समयदेखि पाल्दै आएको पिँडाबाट मुक्त भएको बताउँदै खनालले भने, ‘आँखामा ज्याति पाउँदा अर्को जन्म पाए जस्तो महशुस भएको छ ।’
शिविरबाट उनीहरु जस्तै १ सय ८५ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजले जिल्लाको भुरिगाउँमा संचालन गरेको निशुल्क मोतिबिन्दु जाँच तथा अप्रेशन शिविरमा १ हजार ५ सय जना आँखाका विरामीहरुले आँखा जाँच गराएका थिए । ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा आँखा जाँच गरिएको थियो । जाँचबाट २ सय ५० जनामा मोतिबिन्दुका विरामी फेला परेका थिए । मोतिबिन्दु भएकाहरुलाई माघ २६ गतेदेखि २८ गतेसम्म निशुल्क अप्रेशन गरिएको थियो ।
सबै वडामा जाँच गर्दा २ सय ५० जनामा मोतिबिन्दु देखिएको थियो । जसमध्ये १ सय ८५ जनाको सफल मोतिबिन्दु अप्रेशन गरिएको नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल सामुदायिक कार्यक्रम अधिकृत उमर शादिकले बताए । अप्रेशन गर्नु पर्ने मध्येमा २२ जनामा मधुमेह र उच्च रक्तचापको समस्या देखिएकाले अप्रेशन गर्न नसकिएको उनले बताए । बाँकी विरामी भने सम्पर्कमा आएनन् ।
फत्तेवाल आँखा अस्पताल नेपालगंजका नेत्र रोग विशेषज्ञ डा. देवराज भारतीसहितको ११ जनाको प्रविधिक टोलीले शिविरमा खटिएको थियो । घरदैलोमै मोतिबिन्दुको निशुल्क अप्रेशन गर्न पाएपछि स्थानियबासी निकै खुशी भएका छन् । यस क्षेत्रका मानिसलाई आँखा अप्रेशन तथा आँखा सम्वन्धी अन्य उपचारका लागि नेपालगंज जानु पर्ने बाध्यता रहेको छ ।
फत्तेवाल आँखा अस्पतालमा मोतिबिन्दुको अप्रेशन गर्दा ५ हजार शुल्क लाग्ने गर्छ । अप्रशेन खर्च, यातायात, आवास र खाना गर्दा करिव १५ हजार रुपौँया खर्च हुने गर्छ । गाउँमै शिविर संचालन भएका पछि पैसा पनि बचत भएको छ । गाउँमै निशुल्क सेवा पाउँदा निकै राहत भएको स्थानियबासी बताउँछन् । ‘विशेषज्ञ सेवा गाउँमै पाइयो । उपचार पनि भयो । पैसा पनि बचत भयो । यो भन्दा राम्रो के होला,’ स्थानिय पदम लम्सालले खुशी हुँदै भने ।
उपचार खर्च नभएर रोग पाल्न बाध्य भएका ग्रामिण भेगका जनता शिविरबाट निकै लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजले स्थापनाकाल देखि नै ग्रामिण भेगमा आँखा सम्वन्धि निशुल्क शिविर संचालन गर्दै आएको सामुदायिक कार्यक्रम अधिकृत उमर शादिक बताउँछन् । भेरी अञ्चल सबै भन्दा बढी अन्धोपनबाट ग्रसित क्षेत्र रहेकाले हरेक वर्ष ग्रामिण भेगमा निशुल्क शिविर संचालन गर्ने गरिएको कार्यक्रम अधिकृत शादिकले बताए ।
उनका अनुसार यहाँ हरेक २ सय जनामा १ जना अन्धोपनबाट ग्रसित रहेका छन् । भने नेपालमा ६४ प्रतिशतमा अन्धोपन तथा मोतिबिन्दु रोग छ । ४० वर्ष उमेर पार गरेपछि मोतिबिन्दुको समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् । कसैकसैलाई जन्तजात नै रोग देखिने गरेको र कसैलाई आँखामा गम्भिर चोट लाग्दा पनि मोतिबिन्दु हुने गरेको चिकित्सकको भनाई छ ।
घरदैलो मै आँखाको उपचार पाउँन भनेर नेपाल नेत्रज्योति संघ फत्तेवाल आखाँ अस्पताल नेपालगंजले बर्दियाको सानोश्री, राजापुर र बाँसगढीमा आँखा उपचार केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । यही फागुन महिनादेखि बारबर्दिया र ठाकुरबाबामा पनि उपचार केन्द्र स्थापना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: