वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

भाले गोही मरेपछि बबईको भाले गोही चितवनको राप्तीमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस ९, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियाको भाले गोही चितवनमा लगेर छाडिएको छ । चितवनको राप्ती नदीमा रहेको एक मात्र भाले गोही गत वर्ष मरेपछि बर्दियाबाट भाले गोही चितवन लगी शनिबार छाडिएको छ । शुक्रबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बबई खोलाबाट भाले गोही नियन्त्रणमा लिई शनिबार चितवन लगि नदीमा छाडिएको हो ।
गत वर्ष जेठ महिनादेखि भाले गोही विहीन भएको चितवनको राप्ती नदीको बगरमा भाले गोही छाडिएको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । चितवन निकुञ्जसँग जोडिएको राप्ती र नारायणीको संगम थल गोलाघाटबाट एक किलोमिटर पूर्वतर्फ खोरिया मुहानमा राप्तीको बगरमा गोही छाडिएको कँडेलले बताउनुभयो । प्रजननमा सहयोगी बन्दै आएको एक मात्रै भाले गोही गत जेठ १० गते नारायणी नदीको अमलटारी पश्चिम नन्दपुरमा जालमा परेर मरेको थियो ।
बबईबाट गोही ल्याउनु अघि चितवन निकुञ्जको टोलीले कर्णाली नदीमा पनि भाले गोहीको खोजी गरेको थियो । तर,कर्णालीमा भाले गोही फेला नपरेको कँडेलले बताउनुभयो । चितवनका दुई नदी बाहेक अहिलेसम्म बबईमा ११० वटा र कर्णालीमा ४१ वटा गोही छाडि सकिएकोमा पछिल्लो समय गणनामा बबईमा ३१ वटा र कर्णालीमा एउटा मात्रै गोही फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्: