वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

ब्रेनट्युमरले दुबै आँखा गुमेपछी सरस्वतीको पढ्ने सपना अधुरै; उपचारका लागि सहयोगको अपिल

        भावुक योगी   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २२, २०७४ ।    

गुलरिया,बर्दिया।
बर्दियाको गुलरिया नगरपालिका ४ तुल्सीपुरकी एक वालिकाको ब्रेनट्युमर रोगका कारण दुबै आँखा गुमेको छ । गुलरिया ४ तुल्सीपुर गाउँकी १३ वर्षीया सरस्वती खड्का ब्रेनट्युमर रोगका कारण दुवै आँखा गुम्दा सरस्वतीको पढने ईच्चा पनि अधुरै भएको छ ।

ब्रेनट्युमर रोग लागेपछी उपचारकै क्रममा दुवै आँखा नदेख्ने भएपछि सरस्वतीको पढ्ने सपना अधुरै भएको हो । धेरै पढेर शिक्षक बन्ने सपना बोक्नु भएकी सरस्वती एक्कासी दृष्टिबिहिन बनेपछि विद्यालय जान समेत नसक्ने हुनुभएको छ ।

गुलरीया तुल्सीपुरको ध्रुव माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत सरस्वती आँखा नदेख्ने भएदेखि विद्यालय जान छाड्नु भएको छ । शिक्षक बन्ने लक्ष्य लिएकी सरस्वती भन्नुहुन्छ बुवाले उपचारमा केही खर्च गर्नुभयो, तर मेरो आँखा ठिक भएन, अब बुवा संग पनि पैसा छैन, कसैले उपचार गरिदिए मैले संसार देख्न पाउने थिएँ र आफ्नो सपना पनि पूरा गर्ने थिएँ, सरस्वतीले भन्नुभयो ।

सरस्वतीले अहिले दुखाइ कम गर्ने औषधि खाएर घरमै बस्नु भएको छ । उपचारमा धन सबै सकियो बाँकी उपचार कसरी गर्ने होला भन्ने चिन्ता बाउआमालाई छ । गरिब हुनु पनि अभिषापै रहेछ कसैले सहयोग गरेर छोरीको जिन्दगी वचाई दिए ठूलो कल्याण हुने थियो, यो छोरीले आँखा देख्न पाँउथी की सरस्वतीकी आमा नैनसरा खडकाले भन्नुभयो ।

सक्दो उपचार गरीयो, अब कसरी उपचार गर्ने यो छोरीको उपाय नै छैन, आर्थिक अवस्था कमजोर छ, उपचारकै लागि एक हल गोरु र भैंसी बेचेर दुई लाख ४० हजार रुपैयाँ सकियो तर छोरीलाई ठिक भएन, सरस्वतीकी आमाले बताउनुभयो ।

विद्यालयकी सामान्य विद्यार्थी भएपनि छ वहिनीछोरी मध्ये साईँली छोरी सरस्वती मिहिनती भएको ध्रुव माध्यमिक विद्यालयका शिक्षक अर्जुन आचार्यले बताउनुभयो ।

सरस्वतीको पारीवारीक स्थिती पनि दयनिय छ, घरवास मात्रै छ, अरु जग्गा जमिन छैन, पारिवारिक अवस्था कमजोर भएकै कारण उनको उपचार हुन नसक्नु दुःखको विषय हो, त्यसैले कसैले उनको उपचारमा सहयोग गरीदिए हुन्थ्यो, ध्रुव माध्यमिक विद्यालयका शिक्षक अर्जुन आचार्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: