वि.सं.   बिहिबार, बैशाख १३, २०७५   तदनुसार  26 April 2018

बाँसगढीको जनचेतना सामुदायिक वनमा व्यापक फडानी : स्थानिय मौन

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४ ।    

‘म बिमारले थला परेको थिए, कसले बदमासी गर्यो केही थाह छैन’

बाँसगढी,बर्दिया ।
बाँसगढी नगरपालिका–४ मगरटोलमा रहेको जनचेतना समुदायिक वन व्यापक रुपमा फडानी भएको छ । सामुदायिक वनमा हरिया सिसौँ र खयरका रुख अन्धाधुन्ध काटिएको हो ।
बस्तीसँगै जोडिएको सामुदायिक वनमा बस्ती कै नजिक सिसौँ र खयरका सयौँ रुख काटिएका छन् । सिसौँका कुनैकुनै रुख काट्दा काट्दै छाडिएको छ । रुख कटान सम्बन्धमा आफुहरुलाई केही थाह नभएको उपभोक्ताहरु बताउँछन् । काटिएका रुखको फेद हेर्दा २/४ दिन अघिमात्र रुख काटिएको अनुमान गर्न सकिन्छ । आलो काटिएको नदेखियोस् भनेर कतिपय रुखको काटेको भागलाई माटो र झारपातले छोपिएको छ ।

उपभोक्ता नै मौन !

काटिएका प्रायः सिसौँ र खयरका रुखहरु कलिला र हुर्कदै गरेका छन् । खयरको तुलनामा सिसौँका रुखहरु बढी काटिएका छन् । काटिएका रुख नजिकै घर भएका एक उपभोक्ताहरु रुख कटानीबारे आफुलाई केही थाह नभएको बताउँछन् । जनचेतना सामुदायिक वनको क्षेत्रफल करिव करिव ३५ हेक्टर रहेको बताइएको छ । यो वनमा २ सय ५० उपभोक्ता रहेका छन् । उपभोक्ताले वन रेखदेखका लागि वन हेरालु पनि राखेका छन् । यतीधेरै रुख काटिदा, चोरी हुँदा पनि उपभोक्ता मौन बसेका छन् । वन हेरालु कमाने दमाईले वन फडानी बारे आफुलाई केही थाह नभएको बताए । आफु २० गतेदेखि विरामीले थला परेकाले वन फडानीबारे आफुलाई केही थाह नभएको उनको भनाई छ । ‘ म विरामीले थला परेको थिए हजुर । कसले बदमासी गर्यो केही थाह छैन,’ वन हेरालु कमाने दमाईले भने ।


जनचेतना सामुदायिक वनका अध्यक्ष टंकप्रसाद अधिकारीलाई वन फडानी बारे सोध्दा सुरुमा केही बताउन चाहेनन् । संचारकर्मीको प्रश्नमा उनले भने, ‘यसबारे म अहिले केही बोल्दैन ।’ जिज्ञासा राख्दा उनले पटकपटक क्यामेरा बन्द गर्न आग्रह गरेका थिए । सञ्चारकर्मीको दवाव पछि अध्यक्ष अधिकारीले घुमाउरो पारामा कसैले रातीको समयमा रुख काटेर चोरेर लगेको बताए । तर कसले चोर्‍यो भन्ने बारे उनले केही खुलाएनन् । वन फडानीबारे इलाका वन कार्यालय बासगढीमा जानकारी गराएको उनले बताए ।

‘कबड्डी एकेडेमीलाई विवादमा ल्याउन गरिएको खेल’

वन क्षेत्रमा पर्ने बासगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रजमान चौधरीले वन फडानीबारे आफुलाई केही थाह नभएको प्रतिक्रिया दिए । प्रतिक्रिया लिइरहेको बेला वडा अध्यक्ष रजमान फडानी भएको वनको छेवैमा भइरहेको एक कार्यक्रममा उपस्थित थिए । रुख काटिनुमा उपभोक्तकै संलग्नता रहेको धेरैको आशंका छ ।
फडानी भएको वनको छेवैमा खेल मैदान रहेको छ । वनको छेवैमा रहेको खेल मैदानमा मंगलबार राष्ट्रिय स्तरको कबड्डी एकेडेमीको शिलन्यास गरिएको छ । बन्न लागेको कबड्डी एकेडेमीलाई विवादमा ल्याउन केही व्यक्तिले यस्तो काम गरेको केहीको भनाई छ । स्थानिय डिबी थापा भन्छन्, ‘वनको छेवैमा रहेको खेल मैदानमा वन्न लागेको राष्ट्रिय स्तरको कबड्डी एकेडेमीलाई विवादमा ल्याउन केही अराजक व्यक्तिहरुले यस्तो काम गरेको हुन सक्छन् ।’

जिल्ला वन कार्यालयलाई थाहै छैन

जनचेतना सामुदायिक वनलाई रुख बुट्यान कटानका सम्बन्धमा जिल्ला वन कार्यालयबाट कुनै पनि आदेश नदिइएको वन कार्यालयका सहायक वन अधिकृत दोर्णप्रसाद शर्माले बताए । मनोमानी रुख कटान गरिएको थाहा पाएपछि इलाका वन कार्यालय बासगढीको टोली वन स्थलमा गएर कटान गरिएको रुखहरुको तथ्याङ्क संकलन गरिएको सहायक वन अधिकृत शर्माले बताए । उनले भने, तथ्याङ्क लिने र रुख काट्नुको कारण के हो भनेर वन समितिलाई स्पष्टिकरण सोध्ने काम भएको छ । अहिले सम्म उताबाट कुनै जवाफ आएको छैन ।’ दोषी देखिए नियमानुसार कारवाही अवश्य हुने सहायक वन अधिकृत शर्माले बताए ।

फोटो/समाचार: सुदीप अधिकारी

प्रतिक्रिया दिनुहोस्: