वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दिया राष्ट्रिय निकुञ्जमा यसरी गरिदैछ बाघ गणना…

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, पुस २, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।
बर्दिया निकुञ्जमा आधुनिक ‘ क्यामरा ट्यापिङ्ग ’ प्रविधीको प्रयोग गरि बाघ गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराइले शनिबार एक समारोह बिच बर्दिया निकुञ्जबाट बाघ गणना सुरुवात गरेका हुन ।

बाघ गणनाकाका लागि बर्दिया र वाँके निकुञ्ज क्षेत्रलाई ३ ब्लकमा विभाजन गरि गणना कार्य सुरु गरिएको छ । गणना कार्यका लागि १ सय १२ जना प्रविधिकसहितको विशेषज्ञ टोली खटिएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । यस पटक बर्दिया र बाँके निकुञ्जमा बाघ गणना गरिने छ ।
गणनाका लागि १० वटा समूह बनाइएको छ । हरेका समूहमा ८÷८ जना प्राविधिकसहित केही सहयोगी पनि रहेका छन् । बाघ गणनाका लागि २ सयदेखि २ सय २० क्यामेरा जडान हुनेछन् । निकुञ्ज भित्र दुइ–दुइ किलोमिटरको दुरीमा क्यामरा राखिने छ । यी स्थानमा १५ दिनसम्म क्यामरा जडान हुनेछन् । प्राविधिकहरुको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्ने छन् । गणना कार्यमा आवश्यक्ता अनुसार हात्ती पनि प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।


बाघ हिडडुल गर्ने सम्भावित स्थानहरु पहिचान गरि क्यामरा जडान गरिने छ । बाघ हिड्ने सम्भावीत बाटाको दायाँवाया दुबैतर्फ करिव ६ मिटरको दुरी र करिव ४५ देखी ६० सेन्टीमिटर उचाइमा क्यामरा जडान हुनेछन् । क्यामरा जडान भएको बाटो भएर बाघ हिडेमा उक्त बाघको फोटो क्यामरामा कैद हुनेछ । यसैबाट बाघको पहिचान हुनेछ । क्यामेरा राखेको स्थानबाट कुनै पनि जनावर, मानिस आवतजावत गरेमा पनि ती सबै स्वचालित क्यामेरामा कैद हुने छन् ।
पहिलो ब्लकमा क्यामरा जडान भएको १५ दिन पछि अर्को ब्लकमा क्यामरा जडान गरिने छ । यसैगरि क्रमश तीन वटा ब्लकमा पालैपालो क्यामरा जडान हुने बताइएको छ । गणना अवधीभर प्राविधिकसहितको टोली निकुञ्ज भित्रै बस्नेछ । क्यामेराले कैद भएको बाघको फोटोमा बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिने निकुञ्जले जनाएको छ ।
यो गणनाबाट निकुञ्जमा पछिल्लो समयमा बाघको वास्तविक संख्या पत्ता लाग्नुका साथै यसको अवस्था, वासस्थान र आहारा प्रजातीको वारेमा जानकारी प्राप्त हुने निकुञ्जले विश्वास लिएको छ ।


सन् २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात २ सय ५० पुर्याउने नेपालको लक्ष्य रहेको छ । पछिल्लो गणना अनुसार नेपालभरमा बाघको संख्या १ सय ५८ रहेको तथ्याङ्क छ । सन् २००० मा बर्दिया निकुञ्जमा ४० वटा बाघ थिए । यो बिचमा मुलुकमा द्धन्द्ध मच्चिएकाले निकुञ्जमा बाघ र गैँडाको व्यापक चोरीसिकार भयो । सन् २००८ मा गणना गर्दा बाघको संख्या ह्वातै घटेर १८ मा सिमित भयो । मुलुकमा द्धन्द्ध सकिएयता चोरीसिकारमा कमी आएपछि बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दो छ । सन् २०१० को गणनामा बाघको संख्या बढेर २७ पुग्यो । यसैगरि सन् २०१२ मा गणना गर्दा ३७ पुगेको बर्दिया निकुञ्जको तथ्याङ्क छ । पछिल्लो गणना अनुसार हाल बर्दिया निकुञ्जमा वयस्क ५०, अर्धवयस्क ६ र (डमरु)बच्चा २९ वटा गरी ८५ वटा बाघ छन् । अहिले यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्: