वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दियामा सुस्ताएको चुनावी माहोल गरमागरम हुँदै

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ११, २०७४ ।    

ठाकुरबाबा नपा, बर्दिया।
स्थानीय तहको निर्वाचन सरेपछि केही समय सुस्ताएको चुनावी माहोल यतिखेर पुनः ब्युँतिन थालेको छ । मतदान गर्ने दिन आउन करिब तीन साता बाँकी रहँदा बर्दियामा चुनावी चहलपहल पनि बढ्दै गएको छ । दलका उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारमा जुटेका छन् ।

दोस्रो चरणअन्तर्गत १, २, ५ र ७ नं. प्रदेशमा आगामी ३१ जेठमा स्थानीय तह निर्वाचन हुँदै छ । सो निर्वाचनका लागि जिल्लामा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलले नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षका साथै वडाअध्यक्ष र सदस्य पदका लागि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

तर, नेपाली कांग्रेसले वडाका उम्मेदवारहरूको टुंगो लगाए पनि प्रमुख/उपप्रमुख र गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन । पार्टीमा गुटगत राजनीति हावी हुँदा उम्मेदवार चयन गर्न सकस भएको कांग्रेसका नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमालेले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

दिनहुँजसो प्रमुख र उपप्रमुखसहित पार्टीका कार्यकर्ता भोट माग्दै घरदैलो गरिरहेका छन् । एमालेका कार्यकर्ताहरू टोलटोलमा सभा गर्दै भोट माग्दै हिँडेका छन् । प्रचारप्रसारका क्रममा घरदैलोमा पुग्ने गरेका दलका नेता तथा कार्यकर्ताले विभिन्न आश्वासनहरू बाँडेर भोट माग्ने गरेको स्थानीयहरू बताउँछन् । प्रचण्ड गर्मीको प्रवाह नगरी दलहरू चुनावी माहोलमा होमिएका छन् ।

उम्मेदवार यकिन नभइसकेकाले कांग्रेस घरदैलो कार्यक्रममा जान सकेको छैन । कतैकतै कांग्रेसका तर्फबाट वडाका उम्मेदवारहरू भने भोट माग्दै घरदैलो गरिरहेका छन् । निर्वाचन अभियान गर्ने भन्दै एमाले, माओवादी केन्द्रले पार्टी वडा कार्यालय स्थापना गरी चुनावी गतिविधि अघि बढाएका छन् । यस अघिका संविधानसभा निर्वाचनमा सुकुम्बासी बस्तीमा राम्रो पकड बनाएको माओवादी केन्द्र अझै पनि सुकुम्बासीको भोट अन्त कतै नजाने दाबी गर्दै आएको छ भने एमाले र कांग्रेसका नेताहरू पनि मुक्त कमैया सुकुम्बासीको मत आफूपट्टि तान्न कसरत गरिरहेका छन् ।

बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी आठवटा स्थानीय तह छन् । जिल्लामा २ लाख ५३ हजार १ सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: