वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियामा सम्पन्न राष्ट्रिय कबड्डी प्रतियोगिताको च्याम्पियनशिप आर्मीलाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस २७, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
बर्दियामा पहिलो पटक सम्पन्न राष्ट्रिय कबड्डी प्रतियोगिताको दुबै उपाधिमा त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको उपाधिमा त्रिभुवन आर्मीले आफ्नो एक्लो जित दर्ता गराएको हो ।

आज सम्पन्न पुरुष तर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल बीच भएको थियो भने महिला तर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल आमनेसामने भएका थिए ।


फाइनलमा पुरुष तर्फ आर्मी क्लबले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ अंक जोड्दै राष्ट्रिय कबड्डी प्रतियोगिताको च्याम्पियन भयो भने पश्चिमाञ्चलले दोस्रो स्थानमा चित्त बुझाउन वाध्य भयो ।
त्यस्तै महिला तर्फ पनि सुदूरपश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ अंकको योगफल निकाल्दै त्रिभुवन आर्मी क्लबले नै च्याम्पियनशिपको उपाधि माथि कब्जा जमायो ।
उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।


बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँको सिंहवाहिनी खेल मैदानमा सम्पन्न भएको खेलमा उत्कृष्ट खेलाडीको उपाधि पनि वितरण गरिएको थियो । उपाधी हात पार्नेहरुमा महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ नेपाली सेनाकै नागेश्वर थारु रहेका छन् । उनीहरु दुवैले नगद १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।


लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा पुरुषतर्फ २ वटा विभागीय टोलीसहित पाँच विकास क्षेत्रका गरी ७ टिम र महिलातर्फ ३ वटा विभागीय टोलीसहित ५ विकास क्षेत्रका गरी ८ टिमको सहभागीता रहेको थियो ।
अखिल नेपाल कबड्डी संघले आयोजना गरेको प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी ५/५ टिम, आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल प्रहरी ३/३ वटा विभागीय टिम गरी ८/८ वटा टिम सहभागी रहेका थिए । खेल पुस २४ गतेदेखि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: