वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

बर्दियामा सबैको नजर नगरपालिकाको मेयर पदमा; राजनीतिक दललाई उम्मेद्वार चयन गर्न सकस

        भावुक योगी   |   प्रकाशित मिति: बिहिबार, बैशाख ७, २०७४ ।    

ठाकुरबाबा, बर्दिया
सरकारले चुनावको मिति घोषणा गरे लगत्तै सक्रिय बनेका दलहरुले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । स्थानीय तहको चुनावले गाउँगाउँसम्म चहलपहल बढाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नेतृत्व सहित कार्यक्रम बनाएर वडाको टोलसम्मै पुगेका छन् । दलहरुले आफ्ना कार्यकर्ता माझमा चुनावी एजेन्डा पनि लिएर गाउँ पसेका हुन् ।
दिनहुँ हुने कार्यक्रम सार्वजनिक स्थल, चिया पसल सम्म चुनावी छलफलले रौनकता दिएको छ । दलबाट चुनावमा नेतृत्वका लागि आकांक्षी बनेकाहरुबाट कसले टिकट पाउला र कसले टिकट पाए जित्ला भन्ने अडकल बाजी समेत सुरु भएको छ ।
बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका सहित ८ वटा स्थानीय तह छन् । स्थानीय तहमा उम्मेद्वार छनौट गर्न दलहरु तयारीमा जुटेका छन ।
स्थानीय तह मध्ये सबैको नगरपालिकामा नजर परेको छ । साबिकका झण्डै ४ गाविस समेटेर बनेको नगरपालिकामा चुनाव जित्ने कसरतमा पनि उनीहरु लागि परेका छन् । नगरपालिकामा जित्दा जिल्लामा आफ्नो हैसियत बढ्ने दाउमा दलहरु सक्रिय छन ।
गाउँमा दिनहुँ जसो साबिकका गाविस रहेको ठाउँ र आआफ्नो पकड भएका क्षेत्रमा दलहरुबाट राजनीतिक कार्यक्रम र सभाहरु आयोजना भइरहेका छन् । गाउँ टोलमा आफ्ना कार्यकर्तालाई जम्मा पारेर चुनावी घोषणा देखि पार्टी प्रवेश र बिस्तार सम्मका कार्यक्रम दलहरुले गर्दै आएका छन ।
राजनीतिक दलहरु आफ्नो पक्षमा नतिजा हात पार्न नगरपालिका सहित गाउँ केन्द्रित अभियानलाई जोड दिएका छन् । दोस्रो संविधानसभाको चुनावपछि गाउँ नगएका नेता कार्यकर्ता दौडधुपमा देखिएका छन ।

राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

देशमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बर्दियाबाट मुख्य गरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् ।
गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतले चुनावका लागि सम्पर्क कार्यालयमा दर्जनौ पटक बसेका बैठकले पनि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न सकेका छैनन ।
दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ९० प्रतिशत सम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन् । बर्दियामा बैशाख ९ देखि १२ गते सम्म मुख्य तिन दलले उम्दवारको टुंगो लगाउने बताएका छन ।
दुई लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा १५३ मतदान स्थलमा ३१४ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: