वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दियामा बाजागाजा सहित उत्साहजनक र शान्तिपुर्ण उम्मेद्वारी दर्ता; स्वतन्त्रको पनि उम्मेद्वारी

        भावुक योगी   |   प्रकाशित मिति: आइतवार, असार ४, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बर्दियामा मनोनयन पत्र उम्मेद्धारी दर्ता गर्ने क्रम उत्साहजनक रुपमा भएको पाईएको छ । राजनीतिक दलहरुले बर्दियाका सबै स्थानीय तहमा मनोनयन दर्ता गर्न आउँदा बाजागाजा र र्याली सहित आएकाले उत्साह थपिएको हो ।
६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले बाजागाजा र र्याली सहित बजार परीक्रमा गर्दै शान्तिपुर्ण रुपमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन् ।
झण्डै २० वर्षपछी हुन लागेको चुनावलाई एक उत्सवका रुपमा सफल पार्न भन्दै बजागाजा सहित दलहरु ठुलो सहभागितामा उम्मेदवारी दर्ता गर्न आएका थिए ।

मक्कुराम थारु, लिला भाट/ नेपाली कांग्रेस

राजनीतिक दल लगायत स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । गुलरिया नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा लगायत स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट मुक्तिनाथ यादव, उपमेयर सुशीला गिरीले मनोनयन पत्र दर्ता गर्नु भएको छ । नेकपा माओबादीबाट मेयर पदमा गेहेन्द्र ढकाल, उपमेयर मोहनकुमारी फुयाँलले मनोनयन दर्ता गर्नु भएको छ । यस्तै नेकपा एमालेबाट मेयर पदमा हरी ज्ञवाली, उपमेयरमा टीका संसेली मगरले मनोनयन दर्ता गर्नु भएको हो ।
यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदमा नजमुद्धिन शेष उपमेयरमा शंखी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय जनमोर्चाबाट मेयरमा युवराज ढकाल उपमेयरमा लक्ष्मी पुरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

तस्बिर: सौगात श्रेष्ठ

यता ठाकुरबाबा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माअ‍ेबादी केन्द्र, नेकपा एमाले, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र उम्मेदवारी दर्ता गराएका छन् ।
ठाकुरबाबा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट मक्कुराम थारु, उपमेयर लिला भाटले मनोनयन पत्र दर्ता गर्नु भएको छ । नेकपा एमालेबाट मेयर पदमा घननारायण श्रेष्ठ, उपमेयरमा बिना भट्टराईले मनोनयन दर्ता गर्नु भएको हो । यस्तै नेकपा माओबादी केन्द्रबाट मेयर पदमा नेत्रराज आचार्य, उपमेयर कृष्ण कुष्माथारु आस्थाले मनोनयन दर्ता गर्नु भएको छ ।

घननारायण श्रेष्ठ, बिना भट्टराई/नेकपा एमाले

यसैगरी राप्रपाबाट मेयर पदमा श्रीराम थारु, उपमेयर अमृता खडकाले उम्मेदवारी दर्ता गर्नु भएको छ । चुनाव चिन्ह नपाएपनि बैद्य पक्ष माओबादी सहितको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मेयर पदमा राम बहादुर शाही, उपमेयरमा गंगादेबी न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले स्वतन्त्र चिन्ह पाउनु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
गुलरीया नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा अयोध्याप्रसाद श्रीवास्तव उपमेयरमा हरिनारायण बस्नेतले मनोनयन पत्र दर्ता गराउनु भएको बताईएको छ । यस्तै ठाकुरबाबा नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा खुसीराम थारु र सिताराम विष्टले मनोनयन पत्र उम्मेदवारी दर्ता गराउनु भएको छ । थारु एमाले निकट हुनुहुन्छ भने बिष्ट कांग्रेस निकट हुनुहुन्छ ।

नेत्रराज आचार्य, कृष्ण कुष्माथारु आस्था/ नेकपा माओबादी केन्द्र

बर्दियाका ८ स्थानिय तह गुलरीया, ठाकुरबाबा, राजापुर, मधुवन, बारबर्दिया, बाँसगढी नगरपालिका लगायत बढैयाताल र गेरुवा गाउँपालिकामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको जनाईएको छ ।
चुनावलाई केन्द्रीत गरेर बर्दियाभर सुरक्षा व्यवस्था कडा बनाईएको एसपी भरत बहादुर बोहोराले बताउनुभयो । शान्तिपुर्ण ढंगबाट उम्मेदवारी दर्ता भएको उहाँले बताउनुभयो । चुनावमा सहभागि नहुने दल राजपाको प्रभाव केही पनि परेको छैन । गएराती तिन जना राजपाका कार्यकर्ता पक्राउ समेत परेका छन् । यस्तै दुई दिन अघि स्वतन्त्र मधेस गठवन्धन (सीके राउत) समूहका केन्द्रिय प्रवक्ता समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्: