वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियामा थारू समुदायको भोट निर्णायक; कसले मार्ला बाजी ?

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शनिबार, असार १०, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचारप्रसार आक्रामक बनाएका छन् । बजार, गाउँ टोल जताततै साउन्ड सिस्टममा आआफ्नो पक्षका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै दौडिएका छन् । टोल, चोक, बजार चुनावी गीत र नाराले गुञ्जायमान भएका छन् । शून्य समय सुरु हुन करिब ३ दिन मात्र बाँकी रहँदा निर्णायक मत मानिएको थारू समुदायको मत आफ्नो पक्षमा पार्न दलहरूले निकै दौडधुप गरिरहेका छन् ।

दलको ध्यान यतिखेर पुरै थारू बस्तीमा छ । यहाँका उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार थारू समुदाय, सुकुम्बासी तथा मुक्तकमैया बस्तीमा केन्द्रित गरेका छन् । चुनाव जित्नका लागि थारू समुदाय र सुकुम्बासी तथा मुक्तकमैयाकै मत निर्णायक हुने ठहर गरेका दलले अहिले थारू समुदाय र सुकुम्बासी जसरी पनि रिझाउने रणनीतिमा छन् ।

‘थारू बहुल क्षेत्रमा थारू समुदायको मन रिझाउन सकिएन भने सोचे जस्तो परिणाम आउँदैन । त्यसैले सबैको ध्यान थारू समुदायमै केन्द्रित भएको हो,’ नेकपा एमालेका जिल्ला सचिवालय सदस्य खगेन्द्र खनालले सुनाए ।

थारू बस्तीमा बड्घर (अगुवा)लाई समाते बस्तीको पूरै भोट पाइन्छ भन्ने नेताहरूको बुझाइ रहेकाले बडघरलाई फकाउने नेताहरूको रणनीति रहेको छ । प्रमुख उपप्रमुखमा उम्मेदवार बनाउने क्रममा आफुहरूलाई प्राथमिकता नदिएको भन्दै थारू समुदायको अगुवाबाट गुनासो आइरहेका बेला उनीहरूलाई फकाउन दलहरूलाई सकस भइरहेको छ ।

जिल्लामा करिब ५३ प्रतिशत जनसंख्या थारू जातिको छ । जिल्लाको राजापुर, बासगढी, भुरिगाउँ, मगरागढी क्षेत्र थारू बहुल क्षेत्र मानिन्छ । सदरमुकाम गुलरिया र ताराताल क्षेत्रमा अन्य जाति छन् । जिल्लाको आठ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानमा स्थानीय तह प्रमुखको उम्मेदवार थारू समुदायबाट बनाएको छ । नेकपा एमालेले ३ तहको प्रमुख पदमा थारू जातिलाई उम्मेदवार उठाएको छ । नेपाली कांग्रेसले २ स्थानमा थारू उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

यस अघिका संविधान सभा चुनावमा सुकुम्बासी बस्तीमा राम्रो पकड बनाएको माओवादी केन्द्र अझै पनि थारू समुदाय तथा सुकुम्बासीको भोट अन्त कतै नजाने दाबीमा छ । माओवादी केन्द्रले थारू तथा सुकुम्बासीलाई ‘जनयुद्धका साथी’ बताए पनि एमालेले पनि पछिल्लो पटक थारू समुदायको मत आफ्नो पक्षमा रहको दाबी गरिरहेको छ ।

कांग्रेसले पनि थारू समुदायमा आफ्नो उपस्थिति राम्रो रहेको बताउँदै आएको छ । थारू तथा सुकुम्बासीको मत तान्न दलहरूले थारूलाई प्रचारप्रसारमा अघि लगाएका छन् । जिल्ला विभिन्न फाँट तथा सुकुम्बासी बस्तीमा ९० प्रतिशत भन्दाबढी थारू समुदायका मानिस छन् । दलहरूले सुकुम्बासी बस्तीमा आफ्नो आफ्नो पकड रहेको बताए पनि यहाँका सकुम्बासीहरूले भने आफुहरू अब कसैको एकोहोरो इसारामा नचल्ने प्रतिक्रिया दिने गरेका छन् । थारू, मुक्तकमैया तथा सुकुम्बासी यसपालिको स्थानीय तह निर्वाचनमा सोच विचार गरेर भोट हाल्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्: