वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

बर्दियाको साँस्कृतिक एकताको ऐतिहासिक धरोहर ठाकुरबाबा मन्दिरमा माघी पर्व शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस ३०, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
माघ १ गते अर्थात माघी पर्व । बर्दियाको सुन्दर पर्यटकिय नगरी बर्दिया राष्ट्रिय निकुन्ज, ठाकुरद्वाराको काखमा रहेको प्रसिद्द धार्मिक तिर्थस्थल ठाकुरबाबा मन्दिर परिसरमा थारुहरुको महान चाड माघी र हिन्दू धर्मालम्बीहरुको माघे सक्रान्तीको चहलपहल भब्य रुपमा शुरु भएको छ ।
पुष महिनाको अन्तिम पलसंगै माघ १ गतेको सुरुवाती बिहान १२ बजेदेखी पूजा सुरु हुने साँस्कृतिक एकताको ऐतिहासिक धरोहर ठाकुरद्वारा मन्दिरलाई बेहुली जसरी संगारिएको छ । आसपासका कुन्ड, मुर्तिहरुलाई पनि नयाँ रंगरोगन गरेर सजाईएको छ ।


ठाकुरबाबाको दर्शन गर्नाले विशेषत: निसन्तान दम्पतीको सन्तान प्राप्ती हुने र आफुले इच्छ्याएका मनोकामना पूरा हुने धार्मिक जनविश्वास रही आएको छ । यही जनविश्वासलाई पछ्याउदै ठाकुरबाबा नगरपालिका-९ बर्दियामा रहेको प्रसिद्द ठाकुरबाबा मन्दिरको दर्शन गर्न बर्दिया, बाके, कैलाली लगायत देशका धेरै स्थानहरुबाट आउने दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । यो बाहेक भारतबाट पनि हजारौँ दर्शालुहरु मन्दिर दर्शन गर्न र मेला घुम्न आउने गर्दछन ।


मन्दिरमा हुने दर्शालुहरुको भिडलाई मध्यानजर राखेर लाइन तथा अन्य व्यवस्थापन गरी मन्दिर दर्शनलाई सहज बनाईएको छ । त्यस्तै यसपाली बर्दियाका युवाहरुको पहलमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सरसामान, जुत्ता चप्पललाई सुरक्षित राख्न र मन्दिर व्यवस्थालाई चुस्त पार्न निशुल्क जुत्ताचप्पल राख्ने स्टलको स्थापना गरिएको छ । बिकासप्रेमी युवा समुहका तपेन्द्र जोशीले दिएको जानकारी अनुसार स्टल पूर्णरुपमा तयार भईसकेको र जुझारु युवाहरु भक्तजनको सेवामा लाग्न तयार रहेको बताएका छन ।


धार्मिक किम्बदन्ती अनुसार अहिले मन्दिर रहेको स्थानमा तीन सय बर्ष अघि मल्लकालिन समयमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ती भेटिएको र उक्त मुर्ती किसानले उचाल्न नसकेपछि कुनै दैवीय शक्ती हुनसक्ने भनी त्यही राखिएको बताईएको छ । संभवत: यो नै एकमात्र मन्दिर हो जहाँ थारु समुदायका महन्त पुजारी रहेका छन ।
यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती रहेको छ । थारु समुदायले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको स्थानियको भनाई छ ।


माघीकै अवसरमा ठाकुरबाबा मन्दिर परिसरमा भब्य मेला पनि लाग्ने गर्दछ । चारदिनसम्म चल्ने यसपालीको ठाकुरबाबा मन्दिर दर्शन तथा मेलामा तीन सय बढी स्टलहरु रहेको बताईएको छ ।

मेला भर्न र मन्दिर दर्शन गर्न आउनेहरु निकुन्जको अवलोकन गर्न जानेको संख्या पनि उल्लेख्य हुने गर्दछ । निकुन्जको ठाकुरद्वारास्थीत थारु संग्रहालय हेर्नेहरुको मुख्य आकर्षणको केन्द्र हो ।

तस्बिर: श्रेष्ठ समनश्री

प्रतिक्रिया दिनुहोस्: