वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

बर्दियाको शिक्षा र वनमा भ्रष्टाचारको उजुरी धेरै: उजुरी पर्नेमा बर्दिया तेस्रो

        प्रेम बुढा   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

गुलरिया,बर्दिया।
भ्रष्टाचार विरुद्धको उजुरी गर्ने पाँच जिल्ला मध्ये बर्दिया तेस्रो स्थानमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार शिक्षा र वन तथा भु—संरक्षण मन्त्रालयमा भ्रष्टाचारको उजुरी धेरै परेको आयोगले जनाएको छ ।
उजुरी धेरै परेको क्षेत्र मध्ये संघिय मामिला तथा स्थानिय विकास क्षेत्र तेस्रो र गृह मन्त्रालय अन्तरगतका कार्यालय चौथो स्थानमा छन । आयोगको क्षेत्र भित्र पर्ने ५ जिल्ला मध्ये बाँके, दाङ र बर्दियामा भ्रष्टाचार विरुद्धका उजुरी रोल्पा र प्युठान जिल्लाको तुलनामा बढी आउने गरेको आयोगको तथ्यांकले देखाएको छ ।
गत वर्षको पौष मसान्तमा बर्दियाबाट ७६ वटा उजुरी परेको आयोग कार्यालय कोहलपुरमा यस वर्षको पौष सम्ममा उजुरी संख्या वृद्धि भई १ सय वटा पुगेको छ । २०७४ सालको यो पौष मसान्त सम्म बाँकेमा १६५, दाङमा १०६ तथा बर्दियामा १०० तथा रोल्पामा ३० र प्यूठानमा ५ वटा उजुरी परेका छन ।


उजुरीको संख्यामा वृद्धि भए पनि कतिपय उजुरी प्रतिशोध साध्न र व्यक्तिगत हुने गरेकाले उपलब्धीहिन र राज्यलाई व्ययभार मात्र थपिन जाने आयोगका कोहलपुर प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए । उनले भने-‘उजुरीसगै सचेतना पनि बढेको छ तर विश्वसनिय उजुरीको अपेक्षा छ ।’
आईतबार सदरमुकाम गुलरियामा भएको एक कार्यक्रममा आर्थिक वर्ष २०७१/०७२ देखी यो वर्षको पौष मसान्तसम्ममा आयोगले बर्दियामा ७ वटा स्ट्रिङ अपरेशन गर्दा ८ जना पक्राउ परेको जानकारी गराएको छ । त्यस्तै बाँकेमा १९ वटा अपरेशनमा २६ जना तथा दाङमा गरेको ३ वटा अपरेशनबाट ४ जना पक्राउ परेको र २३ लाख १८ हजार रकम पक्राउ परेको आयोग कार्यालय कोहलपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सुन्य सहनशिलता र सुशासनको पक्षका नागरिकहरुले आवाज नउठाए समाजले भ्रष्टाचारलाई स्वीकार गरेको ठहरिने भन्दै भ्रष्टाचार अन्य गर्न सबै पक्ष एक भए लाग्नु पर्ने विचार व्यक्त गरे । गैर सरकारी सस्था बर्दियाले समन्वय गरेको कार्यक्रममा बर्दियाका सञ्चारकर्मी लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: