वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बर्दियाको मधुवन नपामा अव्यवस्थित पशु बधशालाका कारण स्थानिय मर्कामा

        प्रेम बुढा   |   प्रकाशित मिति: शनिबार, चैत्र १९, २०७३ ।    

मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकामा पशु बधशालाबाट निस्किएको फोहर व्यवस्थित नहुदाँ फैलिएको दुर्गन्धले स्थानिय मर्कामा परेका छन ।
बस्तीबाट झण्डै १०० मिटरको दुरीमा रहेको सामुदायिक वनमा हाड, छाला तथा लेदो जन्य वस्तु फाल्ने गरिएको छ । बस्ती नजिकै अव्यवस्थित फालिएको फोहरमैला व्यवस्थापनमा सम्बन्धित निकाय मौन बसेकोले समस्या झनै बढेको स्थानियले गुनासो गरेका छन ।
नगरपालिका, बजार विकास समिति लगायत सम्बन्धित निकायसँग पटक–पटक छलफल गरे पनि फोहरको दिर्घकालिन व्यस्थापनमा ति निकायले चासो नदिएको स्थानिय ईन्द्र शाहीले बताउनुभयो ।
‘बस्तीतिर हावा आउँदा गन्हाएर श्वास फेर्नै सकिँदैन, खाना खान सकिँदैन घरमा पाहुना आए लाजै हुन्छ’ नयाँ बजारकी हरिकला कँडेलले भन्नुभयो ‘चुनावमा भोट माग्न मात्रै आउछन यहाँका नेताले हाम्रो समस्या सुनेनन् ।’
गर्मी बढेसँगै बस्तीमा महामारी फैलन सक्ने विषयमा सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानियहरुले जिल्ला स्थित वन कार्यालयमा निवेदन दिएका थिए । गैर कानुनी रुपमा बिना इजाजत सामुदायिक वनमा ३ वटा टहरा निर्माण गरि अवैध रुपमा बधशाला सञ्चालन गरेको भन्दै जिल्ला वन कार्यालयले ७ दिन भित्र टहरा हटाउन स्थानिय महिला जागृति सामुदायिक वनलाई निर्देशन दिएको थियो । तर नगरपालिकाले थप छलफल गर्नु पर्ने भनेपछि जिल्ला वनको निर्देशन कागजमा सिमित भएको छ ।
‘उनीहरुले अन्तिम अल्टीमेट सहित ५ दिन थप्न भनेकाले हामीले कुरेका हौँ ।’ बर्दियाका निमित्त सहायक वन अधिकृत दिपक थारु दहिले भन्नुभयो । ‘कानुन अनुसार हामीले कारबाही गर्छौ,, टहरा भत्काउछौं ।’ यता यस विषयमा छलफल गर्न आज शनिवार सर्वपक्षिय छलफल हुदैछ । बधशालाको फोहर फाल्ने गरिएको महिला जागृती सामुदायिक वनले बधशालाबाट बार्षिक १२ हजार उठाइरहेको पाईएको छ । स्थानियहरुले अबैधानिक तरिकाबाट चलाइएको बधशाला नहटाइए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: