वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दियाका सबै दलका उम्मेदवारलाई मुक्तकमैँया र सुकुम्बासीकै भर

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, बैशाख २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
प्रदेश नं ५ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा हुने भएपछि बर्दिया जिल्लामा चुनावी चहलपहल केही सुस्ताए पनि दलका उम्मेदवार भित्री रूपमा प्रचारप्रसारमा लागेका छन । उम्मेदवारले आफ्नो ध्यान सुकुम्बासी तथा मुक्त कमैया बस्तीमा केन्द्रित गरेका छन् । चुनाव जित्न सुकुम्बासी तथा मुक्त कमैयाकै मत निर्णायक हुने ठहर गरेका दलहरु सुकुम्बासीलाई जसरी पनि रिझाउने दाउमा  लागेका छन् । दलहरूले सुकुम्बासी नै निर्णायक भन्दै सुकुम्बासीको मत कसरी तान्ने भन्ने रणनीति बनाउन थालेका छन ।

बड्घरलाई समाते बस्तीको पुरै भोट पाइन्छ भन्ने नेताहरूको बुझाइ छ । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलले मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सदस्यको टुंगो लगाइसकेका छन् । तर, नेपाली कांग्रेसले भने अझै टुंगो लगाउन सकेको छैन । पार्टीमा गुटको राजनीतिले गर्दा उम्मेदवार छान्न सकस भएको पार्टीका नेता बताउँछन् । उम्मेदवार यकिन भई नसेकाले कांग्रेस अझै चोक चौतारोमै उम्मेदवारको चर्चा चलाएर बसेको छ । एमाले र माओवादी केन्द्र भने पार्टी वडा कार्यालय स्थापना गर्दै आन्तरिक भेलामा जुटेका छन । निकै हौसिएर अघिल्लो चुनावमा उत्रेका मुक्तकमैया तथा सुकुम्बासी यसपालिको स्थानीय तह निर्वाचनमा सोच विचार गरेर भोट हाल्ने पक्षमा छन् ।

बर्दियामा ३ सय बढी सुकुम्बासी तथा मुक्त कमैया बस्ती छ । सुकुम्बासी र मुक्तकमैया बस्तीमा मतदाताको संख्या यकिन नभएपनि जिल्लाभरमा झण्डै ४० हजार सुकुम्बासी र १२ हजार बढी मुक्त कमैया रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: