वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दियाका थारू समुदाय जनप्रतिनिधी चुन्न निकै उत्साहित

        सुदीप अधिकारी   |   प्रकाशित मिति: सोमवार, चैत्र १४, २०७३ ।    

ठाकुरबाबा,बर्दिया।
स्थानीय तहको निर्वाचनको घोषणासँगै बर्दियाका थारू समुदाय निकै उत्साहित भएका छन् । अब ‘हाम्रो होइन, राम्रो मान्छे चुन्न पाइने भो’ भन्दै उनीहरू उत्साहित भएका हुन् । करिब दुई दशकअघि स्थानीय प्रतिनिधि चुनेका स्थानीयवासीले यसबीचमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा निकै खल्लो महसुस भएको बताएका छन् । अब सच्चा जनप्रतिनिधि चुन्न आफूहरू निकै उत्साहित भएको थारू समुदायका अगुवाको भनाइ छ । ‘१८ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा मतदान गरी जनप्रतिनिधि छनौट गर्ने यो अवसरलाई कुनै पनि हातलमा खेर नफल्ने थारू समुदायको अठोट छ । यसपालि कुनै पनि हालतमा स्थानीय तहमा जनप्रतिनिधि चुन्न पाउनुपर्छ,’ ठाकुरबाबा–४ का थारू अगुवा जगतराम थारूले भने ।
जुनसकै दलले जेजस्ता माग उठाए पनि जिल्लाका थारू समुदायका नागरिक भने आफूहरू स्थानीय जनप्रतिनिधि चुन्न आतुर भएको उनले बताए । कुन समुदाय, कुन दलले के भन्छ, हामीलाई थाहा छैन भन्दै उनले भने, ‘बल्ल सरकारले चुनाव घोषणा गरेको छ ।’ ‘राजनीतिक दल या अरू कुनै समूहका नाममा प्रतिनिधि चुन्ने अधिकारबाट कसैलाई पनि रोक्न नहुने हाम्रो धारणा हो,’ उनले भने । यसपटकको चुनावमा पार्टीभन्दा पनि योग्य उम्मेदवार हेरेर मतदान गर्ने योजना रहेको बताउँँदै ‘हाम्रो भन्दा राम्रो मान्छ’ चुनेर समुदायको विकासमा अघि बढने थारू अगुवाहरूले भने । राम्रो मान्छे नचुन्नाले विभिन्न अवसरबाट आफूलाई पछाडि पारिएको भन्दै यसपटकको निर्वाचनमा राम्रो, योग्य र सक्षमलाई स्थानीय तहको अगुवा बनाउन आतुर रहेको स्थानीय थारू युवा भागीराम थारूले बताए ।

बर्दियामा आधाभन्दा बढी जनसंख्या थारू समुदायको छ । संविधानसभाका लागि प्रतिनिधि चुन्नु र स्थानीय तहका लागि प्रतिनिधि चुन्नु फरक रहेको बताउँदै थारू समुदायका अगुवा भागीरामले भने, ‘नीति निमार्णका लागि केन्द्रमा चुनेर पठायौं । स्थानीय तहले त हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्छ । आफ्नो गाउँँठाउँको समस्या र विकासका लागि अब त सच्चा रूपमा खटिने सक्षम व्यक्ति स्थानीय तहमा चुनेर पठाउनुपर्छ । अनि, बल्ल गाउँँको विकास हुन्छ,’ उनले भने ।
स्थानीय तहको निर्वाचनमा गाउँँको विकासका लागि खटिन सक्ने सक्षम व्यक्ति चुन्नुपर्ने उनीहरूको धारणा छ । ‘गाउँँको विकास गर्ने योग्य व्यक्ति हाम्रो रोजाइ हो,’ ठाकुरबाबा–४ का थारू अगुवा बहादुर थारूले भने, ‘अब तेरो मेरो भन्दा पनि जनताको भावना र समुदायको विकासमा अघि बढ्न सक्ने नेता चुन्नुपर्छ ।’लामो समयसम्म स्थानीय निकाय कर्मचारीको हातमा हुँदा समुदायको विकासमा अवरोध भएको उनीहरूको बुझाइ छ । स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा समुदायका विभिन्न वर्गहरू विभिन्न अवसबाट वञ्चित हुन परेको उनीहरू बताउँछन् । ‘यो अवधिमा पहुँच हुनेले धेरै फाइदा पनि लिए । अब सबैले समानअवसर पाउनका लागि पनि स्थानीय तहको चुनाव त हुनैपर्छ,’ स्थानीय थारू युवा पहाडी थारूले भने । थारू समुदायले बडघर (समुदायको अगुवा) का रूपमा समुदायको प्रतिनिधित्व र जिम्मेवारी सम्हाले पनि बडघरलाई राज्यले कानुनी मान्यता नदिँदा कामको कुनै अर्थ नरहेको थारू अगुवाहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्: