वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियाका किसानहरु अरहरबालीमा कीराको प्रकोप बढेपछि मर्कामा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, बैशाख २५, २०७४ ।    

गुलरिया, बर्दिया ।
मौसम परिवर्तनसँगै तापक्रम बढेपछि बर्दियामा अरहरबालीमा कीराको प्रकोप देखिएको छ । दलहन बाली स्याहार्ने समयमा कीरा लागे पछि सयौं हेक्टरमा लागाइएको अरहरखेती प्रभावित बनेको छ ।
लामो समयदेखि चलेको पूर्वीया हावाका कारण तापक्रम बढेपछि बर्दियामा खेती गरिने दालजन्य अरहरबाली नोक्सान भएको छ । बाली स्याहार्ने समयमा अरहरको कोसामा कीरा लाग्दा बाली नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार बर्दियामा गत वर्ष एक हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा अरहरखेती गरिएको थियो । गत वर्ष एक हजार एक सय मेट्रिक टन अरहर उत्पादन भएको जनाइएको छ । कार्यालयका अनुसार बर्दियामा अरहरको उत्पादन सन्तोषजनक नभएको बताइएको छ ।

विशेष गरी गर्मी मौसमको सुरुवातसँगै अरहरमा कीरा लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ’मौसम परिवर्तनसँगै तापक्रम बढेपछि अरहरको कोसामा कीरा लाग्ने गर्छ ।’ पछिल्लो समयको वर्षातपछि अरहरको बोटमा नयाँ पालुवा पलाएपछि पनि कीराको प्रकोप बढेको हो ।

बर्दियामा यस आर्थिक वर्ष एक हजार ६ सय ४१ हेक्टर क्षेत्रफलमा अरहर खेती गरिएको छ । जसमा एक हजार दुई सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । किसानको अनुभवमा अरहर काट्नुपूर्व अन्तिम महिनामा पूर्वीया वायुको प्रभावले कीरा लाग्ने र पश्चिमा वायुको प्रभावले कीरा हराउँछ भन्ने विश्वास रहँदै आएको पाइन्छ । अरहरखेती तयार हुन एक वर्ष समय लाग्ने हुनाले पनि किसान मर्कामा पर्ने गरेका छन् ।
बर्दियामा कृषि बिमाको राम्रो प्रचारप्रसार नहुँदा किसानको बिमाप्रति आर्कषण छैन । यदि किसानले बिमा गरेको भए नोक्सान भएको अरहरको क्षतीपूर्ति पाउने थिए तर कीराबाट क्षती व्यहोरेका किसानले बिमा नगरेको हुँदा क्षतीपूर्ति पाउनबाट बञ्चित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: