वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

बबई उपत्यकामा बिरामी भाले गैंडा मृत अवस्थामा फेला

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २०, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा रहेको एउटा बिरामी भाले गैंडा मरेको छ । चितवन निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा ल्याएर छाडिएको एक भाले गैंडा मरेको निकुञ्जले जनाएको छ ।
बर्दिया निकुञ्जको उत्तरी क्षेत्र बबई उपत्यकाको शिवपुर र सोतखोला बिचमा बिरामी गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । घटनास्थलमा गैंडाको खाग लगायत सबै अंग सुरक्षित रहेको निकुञ्जले जनाएको छ । गैंडा लामो समयदेखि बिरामी थियो ।
मृत गैँडालाई बिहीवार राती निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याईएको छ । गएको वर्षको फागुन तेस्रो हप्ता वन मन्त्रालयले चितवनबाट ५ वटा गैंडा बबई उपत्यकामा स्थानान्तरण गरेको थियो । तीमध्ये दुईले बच्चा जन्माएका थिए । एउटा गैँडाको बच्चा (केटो) लाई गत माघ १ गते बाघले खाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: