वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

फेसबुकमा देखाएको सपनाले २ लाख ऋण, ७ दिन बन्धक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, साउन ९, २०७५ ।    
प्रेम बुढा/मधुवन(बर्दिया)।
बर्दिया मधुवन की सुस्मिता खत्री(नाम परिवर्तन)को एक जना व्यक्तिसंग फेसबुकमा भेट भयो । सामान्य गफगाफसंगै शब्दबाट सुरु भएको सम्बन्ध ईमो मार्फत आवाजमा जोडियो । लगातार ईमो मार्फत फोन सम्पर्क हुन थाल्यो । सामाजिक सञ्जाल मार्फत जोडिएको सम्बन्धले झण्डै ८ महिना पुरा गर्दै थियो । ति व्यक्तिले आफु बाँके जिल्लाको भनेर चिनाएका थिए । त्यस विचमा ति व्यक्तिले सुस्मितासंग थोरै थोरै रकम माग्न थाले । घरमा आर्थिक समस्याको परिबन्धमा परेको महशुस गर्ने सुस्मितालाई मिठा कुरा, सुनौला सपनाको जालमा बेरिएको आभाष भयो तर उम्किनै नसक्ने गरि विश्वासले थिच्यो । अपरिचित व्यक्तिले देखाएको सपना सकार हुने विश्वास बढ्यो । ‘मैले गाउँघर र विभिन्न संस्थाबाट ऋण निकालेर त्यसलाई पैसा दिदै गए’ सुस्तिता भन्छिन- ‘घरमा कसैलाई थाहा नदिएर मैले उसलाई दिएको रकम झण्डै २ लाख रुपैया पुगिसकेको थियो ।’
सुस्मिताले ति व्यक्तिसंग आफनो पैसा फिर्ता दिन आग्रह गरिन तर उसले पैसा फिर्ता गर्न नसक्ने बरु विदेश जाने भए राम्रो घरमा धेरै तलबमा काम लगाईदिने भन्यो । सुस्मिताले असहमति जनाईन। उसले भन्यो‘काठ्माण्डौबाट लैजान्छु, कुवेतमा राम्रो काम पाईन्छ, कुनै समस्या हुँदैन ।’
विना कारण घरमा २ लाख रुपैया ऋण लाग्यो । त्यो कुरा श्रीमानलाई समेत थाहा थिएन । सुस्मिताले भनिन- ‘कुवेत गएर पैसा कमाएर त्यही ऋण तिर्छु भनेर त्यसको कुरा मानेकी हुँ’ श्रीमानलाई थाहा नै नदिइ माइति तिरको भाई र त्यस व्यक्तिको सहयोगमा पासपोर्ट बनाएको उनको भनाई छ । जाने निश्चित भएपछि सुस्मिताले गाउँकै नम्रता वि.सी.(नाम परिवर्तन)लाई सबै कुरा सुनाईन ।
घरमा स—साना छोरी । कामको शिलशिलामा श्रीमान घर बाहिर थिए  नम्रताका । सुस्मितासंगै पछि लागिन नम्रता । अर्कैको पासपोर्टमा फोटो राखेर पठाउने गरि कागजात तयार उसैले गरेको नम्रता भन्छिन । गत असार २३ गते दुवैजना घरबाट निस्किए । उक्त व्यक्तिले भन्यो काठ्माण्डौ विमास्थतलबाट जान समस्या हुने भो दिल्ली भएर जानु पर्ने भो । सुस्मिताले भनिन- ‘बाँकेमा भएको आफ्नो घर देखाइ दिन्छु भन्थ्यो,तर पछि ढिलो भईसक्यो अब पछि देखाउछु भन्दै रुपैडिहा नाकाबाट भारत लग्यो।’ बनारसको एक घरको कोठामा थुनियो जँहा त्यस्तै प्रलोभनमा परेर आएका १ सय ५० बढी महिला राखिएको थियो । सुन्दरी भन्ने नेपाल कै एक महिलाले तिमीहरुलाई ल्याउने व्यक्तिले मोटो रकम लिएर गैसक्यो  भने पछि मात्र ति व्यक्ति दलाली भएको थाहा पाएको सुस्मिताको भनाई छ । उनले सम्झिन-‘सधै नेपालका महिला ल्याउथ्ये, कसैलाई होटेलमा पठाउथे,कसैलाई दिल्ली।’ आफुहरु बेचिएकोमा पश्चाताप भए पनि सजिलै उम्किन सक्ने स्थिति थिएन । कसोकसो गरि सुस्मिताले घरमा रहेका श्रीमानलाई फोन गरेर आफुहरु बनारसमा घर भित्र बन्धक बनाइएको खबर गरेपछि घटना बहिरिएको थियो । सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछि बनारसमा रहेका दलालीहरु विच हलचल भयो । माईति नेपाल, जिल्ला प्रशासन कार्यालय तथा परराष्ट्र मन्त्रालयले उद्धारको प्रयास थाले ।  सुस्मिताले सुनाईन- ‘खबर बाहिर पु¥याएको भन्दै सुन्दरी भन्ने महिलाले मार्ने धम्की दिइन। सबैले सम्झाए पछि रातारात २ जनालाई नेपाल फिर्ता पठाइदिए ।’ साउन १ गते सुस्मिता र नम्रता मात्रै घर फर्किएका थिए ।

प्रशासनको पहल

भारतिय पक्षसंगको लगातारको कुराकानीका आधारमा बन्धक बनाइएका चेलीको उद्धारका लागि नेपाली टोली गत शनिवार बनारसको नटकनियामा प्रस्थान गरेको थियो । रेस्क्यू टोलीले बनारसमा त्यहाँका प्रहरीसंगको सहयोगमा अप्रेसन गर्दा ५ जना भारतिय नागरिक पक्राउ गरेको बर्दियाका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाहरुको नाम त्यँहाको प्रहरीले गोप्य राखी मुद्धा चलाएको उहाँको भनाई छ । नेपाली महिलालाई बन्धक बनाइ राखिएको घरबाट  दलालहरुले अन्यत्र स्थानान्तरण गरेका कारण नेपाली टोली त्यसै फर्किएको छ । बन्धक बनाई राखिएको स्थान एकिन नहँुदा उद्धार कार्य ढिलो भएको  थियो । जसका कारण महिलाहरुको उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बताए ।

दलालको को हो ?

नेपाली महिलालाई विभिन्न प्रलोभन देखाई भारत हुदै कुवेत लैजाने भनि भारतमा नै बेच्ने र अलपत्र पार्ने मध्येका संन्दिप महत सिरहा जिल्लाको गोगनपुरबासी भएको अनुमान गरिएको छ । पिडित सुस्मितालाई नेपाली मुलकी भारत बस्ने एक महिलाले दिएको जानकारीका आधारमा निजको नाम संजिव महतो भएको बताइएको छ । उसको बाजे डाक्टर पेसामा छन भने बुवा को ४/५ महिना अघि मृत्यु भएको बताइएको छ । यता दलाली संन्दिप महतले महिलाहरुलाई बाँकेको नेपालगञ्ज चाँदनी चोक  तथा  खजुरा जि गाउँ भन्ने फरक फरक ठेगाना दिने गरेको स्थानिय निम बहादुर खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्: