वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

पुर्वाधार विकासको नमुनाको रूपमा भेरी–बबई डाइभर्सन आयोजना

        लक्ष्मण ढुंगाना   |   प्रकाशित मिति: शनिबार, माघ १३, २०७४ ।    

गुलरिया, बर्दिया ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना पूर्वाधार विकासको नमुनाको रूपमा अघि बढेको छ । नेपालमै पहिलोपटक चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ निर्माणले तीव्रता पाएसँगै सिँचाइ, जलविद्युत्, ग्रामीण सडक सुधार र रोजगार प्रवर्धनमा यस आयोजना विकासको नमुनाका रूपमा अघि बढेको हो ।
आयोजनाअन्तर्गत पहिलो चरणमा सुरुङ खन्ने कार्यले तीव्रता पाएको छ । दुई वर्षभित्र १२ किलोमिटर सुरुङ खन्ने लक्ष्यका साथ २ महिनाअघि टीबीएममार्फत खन्न सुरु गरेकोमा हालसम्म १ हजार ६ सय मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । हाल दैनिक २० देखि ३५ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ । हालकै अनुपातमा कुनै समस्या नआइ काम सुचारु भए सम्झौता अवधिभन्दा चाँडै आयोजना सम्पन्न हुने आयोजनाका डिभिजनल इन्जिनियर अजय अधिकारीले बताए । “अहिलेको कामको गति हेर्दा सम्झौता अवधिभन्दा आयोजनाले चाँडै पूर्णता पाउने छ,” उनले भने, “विकासको नमूना कार्यको रूपमा निकै उत्साह जगाएको छ ।” मेसिनको सफल परीक्षणले कर्मचारीलगायत सवै कामदार उत्साहित भएको इन्जिनियर अधिकारीको भनाइ छ । “टीबीएम प्रविधिवाट सुरुङ खनेको नेपालका सन्दर्भमा पहिलोपटक भएकाले सुरुमा सफल हुने/नहुनेमा द्विविधा थियो,” उनले थपे,“तर हामीले आशा गरेभन्दा दु्रतगतिमा काम भइरहेकोले सफलता टाढा छैन भन्नेमा हामी ढुक्क छौं ।”


आर्थिक वर्ष ०६८/६९ मा सुरु भएको आयोजनाअन्तर्गत ऊर्जा, सिँचाइ, ग्रामीण विकास र जलाधार संरक्षणजस्ता वहुउद्देश्यीय विकासलाई एकसाथ योगदान दिने उद्देश्य राखिएको छ । आयोजनाको कुल लागत १७ अर्ब अनुमान गरिए पनि सुरुङ निर्माण भने १० अर्ब ५६ करोडको लागतमा सम्पन्न हुनेछ । आयोजना सुरु भएयता सवा २ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने बजेटको अभाव नरहेको आयोजनाले जनाएको छ । अहिलेको कामको गति अनुसार मासिक करिव ४० देखि ५० करोड खर्च हुने गरेको बताइएको छ । हालसम्म आयोजनाको समग्र कामको २५ प्रतिशत प्रगति भएको बताउँदै समयमै नमूनाको रूपमा आयोजना सम्पन्न हुनेमा आशावादी रहेको भेरी–बबई डाइभर्सन आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए । आयोजना अन्तर्गत हेडवक्र्स, टनेल र पावर हाउस तीनवटा मुख्य संरचना निर्माण हुने भएपनि हालसम्म टनेल र यससँग सम्बन्धित संरचनाहरू निर्माण भइरहेको आयोजनाले जनाएको छ । बबईको छेउवाट सुरुङ खन्दै जाँदा सुरुङको ६ किलोमिटर सम्भावित जोखिम क्षेत्र रहेको र सो पार भइसकेपछि बाँकी ६ किलोमिटरमा जोखिम न्यूनमात्र हुने भएकोले हेडवक्र्स निर्माणको काम सुरु गर्ने रणनीतिक योजना रहेको उनको भनाइ छ ।
सुर्खेत जिल्लाको छिन्चुस्थित चिप्लेमा करिव १५ मिटर अग्लो बाँध बाँधेर भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानीलाई बबई नदीमा ल्याउने योजनाअनुसार काम अगाडि बढेको छ । हेडवर्कस र पावरहाउस वाहेक सुरुङ निर्माणका साथै यसको लागि चाहिने अढाई किलोमिटर बाटो, टीबीएम मेसिनलगायत सवै कार्य गर्न चाइना ओभरसिज कम्पनीसँग सम्झौता भइरहेको आयोजनाले जनाएको छ ।
वहुउद्देश्यीय पूर्वाधार विकासआयोजनाअन्तर्गत वहुउद्देश्यीय पूर्वाधार विकास योजनाहरू सँगसँगै सञ्चालन हुनेछन् । सिँचाइको लागि बर्दिया र बाँकेका करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य आयोजनाको छ भने सोही प्रयोजनका लागि भेरीवाट ल्याइएको पानीको प्रवाहको सदुपयोग गर्दै ४८ मेगावाट जलविद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनास्थल हात्तीखाल आसपासका क्षेत्रमा गाउँमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि भइरहेको बताइएको छ । आयोजनाका निर्देशक बस्नेतका अनुसार सुर्खेतको हात्तीखाल र गेरुवानीमा रिंगरोड निर्माण, सोलार पावर सिंचाई लगायत स्थानीय सडक सुधारका काम भईरहेका छन् भने बर्दियाको चेपांङमा ग्रामिण सडक सुधारका साथै कुरुले, बाटुले भंगाहमा स्थानीय कुलो सुधार गरी सिँचाइ र नदी नियन्त्रणका काम भइरहेका छन् ।
स्थानीयलाई रोजगारीआयोजनाको सुरुङ खन्ने कार्यले गति लिएसँगै सयौं स्थानीय युवाले रोजगारी पाएका छन् । आयोजनाअन्तर्गत करिव ६ सय जना कामदार रहेकोमा करिव ५ सय नेपाली छन् । यसअघि रोजगारीको सिलसिलामा भारतका साथै विदेश जाने सुर्खेत, बर्दिया, बाँके, दैलेख, अछाम, जाजरकोटका साथै पूर्वी नेपालका विभिन्न जिल्लाका युवाहरू मासिक १५ हजार देखि ५० हजार सम्म कमाउदै आएको आयोजनामा कार्यरत बर्दिया गुलरियाका गणेस श्रेष्ठले बताए । स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै युवाहरूलाई आफनै ठाँउमा रोजगारी दिएर राष्ट्रिय गौरवका आयोजना प्रतिको आर्कषण समेत बढाएको उनको भनाइ छ ।
अध्ययन क्षेत्रको रूपमा लिइँदै टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ खन्नु नेपालका लागि नयाँ प्रयोग भएकोले यो आयोजना अध्ययन क्षेत्रको रूपमा विकास हुदै गएको छ । मेसीनले कसरी सुरुङ खन्ने गरेको छ भनेर हाल यो मेसिन हेर्न दैनिक सयौं व्यक्ति आयोजनास्थल हात्तीखाल पुग्ने गरेका छन् । आयोजनाको स्थलगत अध्ययनका लागि दैनिक भीड लाग्न थालेपछि एकजनालाई भिजिटर गाइडको रूपमा जिम्मेवारी दिइएको छ । आयोजनाको वारेमा बुझ्न खासगरी विभिन्न कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी, कृषक समूह, सञ्चारकर्मी, बबईमा पिकनिक आउनेलगायत इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरू आउने गरेको भिजिटर गाईड गणेश श्रेष्ठले बताए ।
-कारोबारबाट

प्रतिक्रिया दिनुहोस्: