वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

‘पितमारी’मा पिकनिक जाँदै हुनुहुन्छ ? होस गर्नुस् कर्णालीले डुबाउला

        सुदीप अधिकारी   |   प्रकाशित मिति: सोमवार, कार्तिक १३, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
तिहार सकिए लगत्तै पिकनिक जाने लहर सुरु भएको छ । बबई नदी, ठाकुरद्धारा, हात्तीसार, कोठियाघाट पुल र कर्णाली चिसापानी क्षेत्र बर्दियाका मुख्य पिकनिक स्थल मानिन्छन् । यि मध्ये धेरैको रोजाइमा बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलको उत्तर तर्फ रहेको पितमारी क्षेत्र पर्ने गर्छ ।


पितमारीमा  बाँके, बर्दिया, सुर्खेत, कैलाली लगाएतका क्षेत्रबाट दैनिक जसो सयौँ युवायुवतीहरु पिकनिकका लागि आउने गर्छन् । यहाँ पिकनिक आउनेको घुइचो लाग्ने गर्छ । साथीभाइसँग रमाइलो गर्न पिकनिक आएका मध्ये कुनै समूह भने रमाइलोको सट्टा मनभरी पिडा लिएर फर्कने गर्छन् ।

पछिल्लो पटक कर्णली नदीमा यस्तै दुखद घटना भएको छ । पिकनिक खान पितमारी गएका २ जना कर्णाली नदीमा डुवेर वेपत्ता भए । नदीमा डुवेर वेपत्ता भएका लम्की चुहा नगरपालिका– २ का चक्र धमला र सोही स्थानका शर्मिला धमला बेपत्ता भए । उनीहरुको अझै अत्तोपत्तो छैन ।

यो पहिलो पटक भएको घटना होइन । यस्तो घटना यहाँ बारम्बार दोहरिरहन्छ । एक महिना अघि पनि यही पितमारीमै पिकनिक खान आएका २ जना कैलालीका युवा कर्णाली नदीमा डुवेर वेपत्ता भएका थिए । उनीहरुको शव अझै भेटिएको छैन । यसै गरि मंगलबार कोठियाघाटमा पिकनिक खान आएका सुर्खेत विरेन्द्रनगरका २४ वर्षीय मुकेश ढकालको पनि कर्णाली नदीमा डुवेर वेपत्ता भएका छन् । कर्णाली नदीमा नुहाउँन जाँदा उनी डुवेर वेपत्ता भएको बताइएको छ । यहाँ वर्षेनी यस्तो घटना दोहरिरहन्छ ।

पिकनिक स्थलले परिचत पितमारी चिसापानी कर्णाली पुलदेखि करिव ३ किलोमिटर उत्तरमा पर्छ । कर्णाली नदीको तिरैमा यो पिकनिक स्थल छ । पिकनिक स्थल निकै रमणीय भएपनि जोखिम पनि उत्तीकै छ । रमाइलो गर्न नदी तटमा जाने क्रममा दुखद घटना हुने गरेको छ । कर्णाली नदीको कलकल पानी देखेर केही पौडी खेल्न जाँदा र कोही पानी छेवैँमा रमाउन जाँदा नदीले डुवाउँने गरेको स्थानियबासी बताउँछन् ।

स्थानियबासीका अनुसार पितमारी पिकनिक खाने स्थान नजिकै कर्णाली नदीमा गहिरो भुमरी छ । भुमरी रहको स्थानियलाई थाहा भएपनि बाहिरबाट आउनेले यस्को हेक्का राख्दैनन् । पानीको गहिराइ र भुमरीको बारेमा जानकारी नहुँदा पौडी खेल्ने क्रममा त्यही भुमरीमा पर्ने गर्छन् । यती जोखिम हुँदाहुँदै पनि नदीमा पौँडी खेल्न कसैले निषेध गरेको छैन । यहाँ नदी र पानीको अवस्थाबारे जानकारी दिने कुनै सुचना पनि छैन । नदी र पानीको अवस्थाबारे जानकारी नहुँदा घटना पटकपटक दोहरिने गरेको स्थानिय मकर शाहीले बताए ।

महिना दिन नबित्दै एउटै स्थानमा चार जना डुवेर वेपत्ता भएपछि बल्ल स्थानिय प्रशासनले केही चासो देखाएको छ । यतीखेर प्रहरीले सुरक्षाको दृष्टिकोण भन्दै कर्णाली नदीदेखि उत्तरको क्षेत्र पितमारीमा पिकनिक जान रोक लगाएका छ । बारम्बार घटना दोहरिँदै गएपछि पितमारी क्षेत्रमा पिकनिक जान रोक लगाइएको कैलालीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर त्यस क्षेत्रको कर्णाली नदी किनारमा तारबार गर्न पहल गरिने उनले बताए । यसका साथै नदीको जोखिमका बारेमा चिसापानी बजारमा सन्देशमुलक होर्डिङ बोर्ड लगाउने पनि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: