वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

नेपालमा मात्रै हुने अन्तरराष्ट्रियस्तरको हात्ती पोलो खेल सधैका लागि बन्द

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४ ।    

भरतपुर, चितवन।
नेपालमा मात्रै आयोजना हुने अन्तरराष्ट्रियस्तरको खेल हात्ती पोलो अब सधैका लागि बन्द गर्ने आयोजकहरुले घोषणा गरेका छन् । जनावरलाई दुःख दिनु बेठिक भएका कारण ३५ वर्षअघिबाट सुरू भएको यो प्रतियोगिता बन्द गरेको आयोजकहरुले बताएका हुन् ।
‘हामीले वन्यजन्तुमा आधारित पर्यटन सञ्चालन गर्दै आएका छौं । दुई वर्षदेखि पर्यटकलाई हात्तीमा चढाउन त बन्द गरेका छौं । हात्ती सफारी बन्द भएपछि हात्ती पोलो पनि नखेलाउने निधो गर्‍यौँ ‘ टाइगर टप्स जंगल लजको थारु भिलेज लजका प्रबन्धक डिबी चौधरीले भने । चितवनमा हुँदै आएको हात्ती पोलो केही वर्षयता बाहिर हुन थालेको थियो ।
चितवन निकुञ्ज भित्र रहेको टाइगर टप्स होटलको सहयोगमा विश्व हात्ती पोलो संघ (वेपा)ले सन् १९८२ देखि सो प्रतियोगिता अयोजना गर्दै आएको थियो । निकुञ्ज भित्र रहेको होटलको म्याद सकिएका बेला सो प्रतियोगिता चितवनमा नभएर बर्दियामा भएको थियो । चितवन मैघौली हवाइ मैदानमा हात्ती पोलो हुने गर्दथ्यो ।


टाइगर टप्सकै व्यवस्थापनले बर्दिया निकुञ्जमा सञ्चालन गरेको कर्णाली लजको तत्वधानमा केही वर्ष हात्ती पोलोको विश्व कप प्रतियोगिता बर्दियामा भएको थियो । त्यसपछि दुई वर्षअघि लगातार दुई पटक सो प्रतियोगिता नवलपरासी बाघखोरको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा सञ्चालन गरेको थियो ।
टाइगर टप्सकै व्यवस्थापनमा नवलपरासी डण्डा बजारदेखि तल बाघखोरमा थारु भिलेज नामको पर्यटकीय रिसोर्ट सञ्चालनमा छ । टाइगर टप्सका तत्कालीन सञ्चालक जिम एडवर्डले आफ्नो होटलमा आउने विदेशी पर्यटकहरुलाई सामेल गराएर यो खेलको सुरूवात गरेका हुन् । जिमको केही वर्षअघि नै निधन भइसकेको छ ।
टाइगर टप्स समूहले सञ्चालन गरेको होटलमा युरोप, अमेरिकाका निकै नै धनाढ्य र खर्चालु पर्यटकहरु आउने गर्छन् । तिनै पर्यटकहरुलाई मनोरञ्जन दिन जिमले यो नौलो खेलको सुरूवात गरेका थिए । अहिले संसारभर हात्ती सफारीका विरुद्ध आवाजहरु उठ्न थालेको छ । नेपालको पहिलो जंगल लज टाइगर टप्सका सञ्चालकले नै हात्ती सफारी बन्द गरेका छन् ।
हात्ती पोलोमा १०० मिटर चौडा र ७० मिटर फराकिलो मैदानमा पक्ष विपक्षमा चार चारजना खेलाडी हुन्छन् । जो हात्तीमाथि बसेर दुई मिटर लामो बलियो लठ्ठीको सहाराले पोलो बललाई विपक्षीको पोष्टमा प्रहार गर्छ । यो खेल हात्तीको शिर शरीर र रुचि बानी तथा स्वभाव अनुकुल नदेखिएपछि बन्द गरेको चौधरीले बताए ।
प्रतियोगिता मंसिर महिनाको मध्यतिर सञ्चालन हुने गर्दथ्यो । प्रतियोगितामा नौ समूहले भाग लिने गर्दथे । जो होटलमा आउने खर्चालु पर्यटक हुन्थे । अजंगको हात्तीमा बसेर लौरोको सहाराले सानो बललाई पोष्टतर्फ लैजान खेलाडीबीच हुने तछाडमछाड हुन्थ्यो ।
तर, हात्तीको चालसँग खेलाडीको चाहनाको तालमेल हुन गाह्रो हुने गर्दथ्यो । मैदानमा हुने यस्तै अलमल हेरेर विदेशी पर्यटक रमाउने गर्दथे । यही दृश्य हात्तीको स्वभाव विपरीत हुने देखेर आयोजकहरु प्रतियोगिता नै बन्द गर्ने निचोडमा पुगेका हुन् । हात्ती पोलोको सुरुवातकर्ताले नै यो बन्द गरे पनि सौराहामा भने त्यहाँका व्यवसायीले गत वर्षदेखि यस्तै खालको कार्यक्रम सुरूवात गरेका छन् । यो खबर हामीले चितवन पोस्टबाट लिएका हौँ।

प्रतिक्रिया दिनुहोस्: