वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

दशगजा नै आँगन, दुई देशका स्थानियमा आपसी सद्भाव

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७३ ।    

नेपालगञ्ज बाँके ।
वारीपारी घोडदौडिहा नाम गरेका दुई गाउँ छन् । वारीका नेपाली हुन । पारीको भारतीय बस्ती हो । तर, नेपाल-भारत सीमा छुट्याउने दशगजा भने यहाँ देखिदैन । स्थानीयहरु दशगजालाई आंगनका रुपमा प्रयोग गरेका छन् । पश्ुचौपाया त्यही राख्छन् । गोरु गाडा राखिएका छन् । खाट राखेर त्यही अराम गर्छन् । दशगजामा गोबर थुपारिएका छन् ।

त्यसो त दुई मुलुकको सीमा छ्ट्याउने दशगजामा अन्र्तराष्ट्रिय कानुनले मानवीय गतिबिधि गर्न प्रतिबन्ध लगाएको छ । तर, सीमाका घोडादौडिहा गाउँमा भने त्यसको कुनै प्रभाव देखिदैन । ‘हामी दुबै गाउँका मानिसहरु मिलेरै बसेका छौँ । झैझगडा भएको छैन । उताका पनि सीमामै गाईगोरु राख्छन् । हामी पनि त्यही गर्दै आएका छौँ,’ बाँकेको पुर्बी दक्षिणको नरैनापुर गाउँपालिका अन्र्तगत पर्ने घोडदौडिहाका स्थानीय विपत पासी भन्छन्,‘मिलेर बसेपछि समस्या आउँदैन । दशगजालाई दुबै पक्षले प्रयोग गरेका छौँ ।’

पाका स्थानीयका अनुसार नेपाल–भारत सीमा छुट्नुअघि दुबै गाउँ एउटै थियो । भारतले नेपाललाई नयाँ मुलुक उपहार दिएपछि आधा गाउँ भारततिर पर्‍यो । आधा गाउँ नेपालमा पर्‍यो । भारतले १० र नेपालले १० गज भूमि छोडेर सीमास्तम्भ गाडिएका छन् । ‘सुरुमा एउटै गाउँ थियो । दशगजा कोरिएपछि हामी नेपाली भयौँ । आधा गाउँ भारतीय भयो,’ पुर्ब गाविस अध्यक्ष अयजकुमार श्रिवास्तव भन्छन्,‘अझै पनि एउटै गाउँको भावना स्थानीयमा छ । दुई दाजु भाईको घर वारीपारी भएका नाताले पनि दशगजामा आउजाउ बढी भएको हुनसक्छ ।’

दशगजा पहिचान गर्न समस्या भएको भन्दै दुई देशका स्थानीय प्रहरी अधिकारीले एकपल्ट खाली गराएको थियो । तर, खाली गराएको भोलीपल्टै स्थानीयहरुले दशगजालाई आंगनका रुपमा प्रयोग गर्न थालेका हुन । ‘यहाँको परम्परा यस्तै हो । यसले सीमाको सुरक्षा पनि भएको छ,’ भारतीय घोडदौडिहा गाउँका स्थानीय चुन्ना नाउ भन्छन्,‘दशगजा खाली हुन्छ । त्यसैले पशु राख्न र गोबर फाल्न सहज भएको छ ।’

आगलागी हुँदा वा अन्य विपतका समयमा सीमाका स्थानीयहरु सहयोग आदानप्रदान गर्छन् । नेपालतर्फको उक्त गाउँमा गर्मी सिजनमा बर्षेनी आगलागी हुने गरेको छ । विपतका बेला सहयोग आदानप्रदानले पनि उनीहरुबीचको सम्बन्ध कसिलो छ । त्यसैले दशगजा प्रयोग गर्दा दुबै पक्षका नागरिक आपत्ति जनाउँदैनन् । ‘हाम्रो मन मिल्छ । दशगजाबाहेक अरुको सीमा मिच्ने कुरै भएन,’ स्थानीय स्थानीय रामतिर्थ कुम्हार भन्छन्,‘अझैसम्म कहिल्यै विवाद भएको छैन ।’

राप्ती पारीको पुर्बी दक्षिण उक्त गाउँपालिकाको जनसंख्या ३५ हजार रहेको छ । ६ वटा वडा विभाजन गरिएका छन् । त्यसको केन्द्र नरैनापुरमा तोकिएको छ । उक्त गाउँ जिल्लाको दुर्गम क्षेत्र मानिन्छ । सडक, बिद्युत नहुँदा दुगर्म मानिएको हो । स्थानीयहरु भारतीय बजारमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्: