वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

थारु समुदायलाई चुनावी भोट बैंकका रुपमा प्रयोग गरियो– थारु अगुवा

        भगतराम थारु   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

नेपालगन्ज, बाँके । थारु समुदायको नेतृत्व सुनिश्चितता गर्न बाम गठबन्धनका थारु अगुवा कार्यकर्ताले आइतवार नेपालगन्जमा सयुक्त पत्रकार सम्मेलन गरि आफ्नो अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन् ।
चुनावमा थारु समुदायलाई प्रयोग गरि भोट बैंक बनाउने र चुनाव सकेपछि वास्ता नगर्ने थारु अगुवाहरुले गुनासो गरेका छन। नेपाल लोकतान्त्रिक थारु संघ नेकपा एमाले र थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल नेकपा माओवादी केन्द्र बाँकेले आयोजना गरेको सयुक्त पत्रकार सम्मेलनमा थारु अगुवाहरुले थारु समुदायलाई भोट बैंकको प्रयोग गरेको बताएका हुन् । थारु समुदायका वासिन्दा सोझा साझा भएको र उनिहरुलाई अरु समुदायले सोझा पाएर हेपेको समेत उनिहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनका लागि थारु समुदायको तर्फबाट एक एक जना थारु उम्मेद्वारहरुको सुनिश्चितता गर्न आफुहरु परिपक्व रहेको हुनाले अवसर दिन उनिहरुले माग गरेका छन् ।


अवसर दिए काम गरेर देखाउने नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रिय सदस्य चन्द्र बहादुर चौधरीले बताए । नेपालमा बसोबास गर्ने जातिहरु मध्ये राजनीतिक रुपमा पछाडी पारिएका र पिछडिएका आदिवासी जनजातिहरु थारु, मधेशी, मुस्लिम, दलित तथा अल्पसंख्यक जातिहरुको राज्य सत्तामा राजनीतिक अधिकार प्राप्तीका लागि संविधानले दिएको समानुपातिक समावेशको सिद्धान्त अनुसार समावेश गर्न आफुहरुलाई पछाडी पारिएको उनले बताए ।
बाँके जिल्लामा जनसंख्याको हिसावले पहिलो स्थानमा रहे पनि एक जनासम्म पनि उम्मेदवारी दिन नसक्नु र नेतृत्व तहबाट पटक पटक मौखिक तथा लिखित सम्झौता र आश्वासनले सिङगो थारु समुदायमा नै गम्भीर चोट पुगेको उनिहरुले जनाएका छन् ।
थारुहरुको पटक पटकको निर्वाचनमा अन्य जातिका उम्मेद्वारहरुलाई थारु जातिले विश्वासिलो अभिमतबाट विजयी गराए पनि थारु जातिका व्यक्तिलाई नेतृत्व तहमा पुग्न बञ्चित गराएको उनिहरुको आरोप छ । थारु समुदायलाई जहिलेपनि ललिपप देखाउने प्रवृत्ति अन्त्य गर्न अब आफुहरु आन्दोलन समेत गर्न तयार रहेको र ललिपपले नलोभिने उनिहरुले बताएका छन् । थारु समुदायलाई प्रयोगशाला बनाउने र आफु मौजमस्ति गर्ने चलन फेर्नुपर्ने थारु अगुवा कार्यकर्ताको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: