वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

ठाकुरबाबा नगरपालिकाको वडा ४ मा सामाजिक सुरक्षा भत्ता वितरण को ९० प्रतिशत काम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु भएको छ । सोमबार वडा नम्बर ४ को खैलार र बर्गदाहाको सामुदायिक भवनबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । सोमबार झण्डै १ सय ३५ जना लाभग्राहिले सेवा लिएको ठाकुरबाबा नगरपालिकाका नायब सुब्वा तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का वडा सचिब चक्रपाणी आचार्यले बताएका छन् ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु ८० जना, एकल महिला ४५ जना, सामान्य अपांग ८ जना र दृष्टीविहीन २ जना गरि १ सय ३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । नगरपालिकाले विगतका वर्षहरुमा बैंक मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ताको यस आर्थिक बर्षको दोस्रो चौमासिक रकम वडा नम्बर ३, ४, ५, ६ र ७ मा नगदै वितरण गर्ने निर्णय गरेपछि भत्ता वितरणको काम सुरु भएको हो ।

सेवाग्राहिहरुले भत्ता लिनका लागी भुरीगाउँ जानु पर्ने पालो नपाईने, धेरै बेर कुर्नुपर्ने लगाएतका विविध समस्याहरु हुने गरेको गुनासो गरेपछि नगरपालिकाले बैंक स्थापना नभएका वडामा नगदै भत्ता वितरण गर्ने निर्णय गरेको हो । अहिले आफ्नै ठाउँमा भत्ता पाउने भएपछि सेवाग्राहिहरु पनि खुसी भएका छन् । अब भत्ता लिनकै लागी भुरीगाउँ पुग्नुपर्ने, पालो कुर्नुपर्ने लगाएतका समस्याको अन्त्य हुने भएपछि उनिहरु खुसी भएका हुन । ठाकुरबाबा नगरपालिकाका वडा नम्बर १ र २ तथा वडा नम्बर ८ र ९ का सेवाग्राहिको सामाजिक सुरक्षा भत्ता भने बैंक मार्फत नै वितरण गरिने नायब सुब्बा आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...