वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

टिकटका लागि बर्दिया माओवादी भित्र मनमुटाब उत्कर्षमा

        छापाबाट   |   प्रकाशित मिति: सोमवार, अशोज ३०, २०७४ ।    

गुलरिया, बर्दिया।
बर्दिया जिल्लामा प्रतिनिधिसभा सदस्यका दुई वटा निर्वाचन क्षेत्र तोकिएको छ ।
एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल भएपछि बर्दिया एमालेले प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ बाट वामदेव गौतमलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । गौतम चुनावको तयारीमा जुटिसकेका छन् । गौतम उक्त क्षेत्रबाट ६ पटक चुनाव लडिसकेका छन् । ४ पटक सोही क्षेत्रबाट गौतमले चुनाव जितेका छन् ।
वाम एकतापछि क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न माओवादी केन्द्रका नेताबीच हानथाप हुँदा कार्यकर्ता तहमै मनमुटाब उत्कर्षमा पुगेको छ ।
उता नेपाली कांग्रेस बर्दियाले निर्वाचन क्षेत्र नं. २ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । कांग्रेसले देउवालाई सिफारिस गरेपछि चुनाव सहजै जित्न नसकिने माओवादी केन्द्रका कार्यकर्ताको आँकलन छ।
माओवादी केन्द्रको गुलरियास्थित पार्टी कार्यालयमा असोज ८ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ मा विष्णु थारुको नाम सर्वसम्मत र क्षेत्र नं २ मा सुरेश पन्त, सन्तकुमार थारु र तिलक शर्माको नाम सिफारिस गरेको थियो ।
क्षेत्र नं. १ बाट एमाले नेता गौतम उठ्ने भएपछि माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं २ मा उम्मेदवार बन्न सो पार्टीका तीन नेताबीच प्रतिस्पर्धा चलेको छ । असोज ८ को निर्णय उल्टाएर पार्टीले शर्मालाई मुख्य र वैकल्पिकमा पन्त र थारुको नाम केन्द्रमा पठाएपछि विवाद चुलिएको हो ।
महाधिवेशन आयोजक समितिले गरेको सिफारिसलाई उल्टाएर नाम पठाएको भन्दै नेता र कार्यकर्ताबीच गुटबन्दी समेत सुरु भएको छ । गुटबन्दीसँगै नगरसमिति नेतृत्वले भेला आह्वान गर्न थालेका छन् । भेलाबाट सिफारिस नाम केन्द्रमा पठाउने माओवादी नेता बताउँछन्।

‘महाधिवेशन आयोजक समितिको बैठकले बहुमतले निर्णय गरेको सिफारिस उल्टाएर आफ्नो नाममात्र पठाउनु शर्माको दादागिरी हो, यसले कार्यकर्ताको मन दुखाउने काम भएको छ’, समितिका एक सदस्यले भने, ‘ती नाम जस्ताको तस्तै पठाउनुपर्ने माग हामीले गरेका हौं, टिकट कसले पाउने भन्ने हाम्रो मतलब होइन, जालझेल किन गरियो भन्ने मात्र हो ।’
जिल्लाका एकदुई नेताले गरेको सिफारिस मान्य नहुने माओवादी कार्यकर्ता समीम अन्सारीले भने- ‘स्थानीय स्तरमा जो लोकप्रिय छ त्यसलाई टिकट दिइनु पर्छ।’

पार्टी ईन्चार्ज समेत रहेका शर्माले जालझेल गरेको कार्यकर्ताको आरोप छ । शर्माले पार्टीको लेटरप्याडमा आफूलाई मुख्य उम्मेदवार तथा वैकल्पिकमा पन्त र थारुको नाम राखेर केन्द्रमा पठाएको भन्दै कार्यकर्ताले आपत्ति जनाएका हुन् । दोस्रो संविधानसभा चुनावमा शर्मा क्षेत्र नं २ मा नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।

निर्वाचन क्षेत्र नं २ मा तीन नगरपालिका र एउटा गाउँपालिका पर्छ । नगर पार्टीस्तरीय भेला गरेर उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने असन्तुष्ट कार्यकर्ताको तयारी छ । यसैक्रममा मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा बिहीबार र शुक्रवार पार्टीनगर अध्यक्षकोे अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत पन्तको नाम सिफारिस गरेको छ। निर्मल घिमिरेले लेख्नुभएको यो समाचार हामीले नागरिकबाट लिएका हौँ । 

प्रतिक्रिया दिनुहोस्: