वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

चुनाव बहिस्कार गर्नु भनेको जनतालाई अधिकारबाट बञ्चित गर्नु हो: उपप्रधानमन्त्री थापा

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शनिबार, बैशाख २, २०७४ ।    

गुलरिया,बर्दिया
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने कुरो राम्रो नभएको बताएका छन् । शनिबार बर्दियाको गुलरियामा भेरी अञ्चलस्तरिय भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन अब कसैले रोकेर नरोकिने बताए । उनले भने , मुलुक चुनावमा होमिइसकेको छ । अब यसलाई बहिस्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुदैन ।’ चुनाव तोकिएकै मितिमा भएरै छाड्ने अध्यक्ष थापाले दावी गरे ।
मधेशी मोर्चातर्फ लक्षित गर्दै अध्यक्ष थापाले भने, ‘यो चुनावलाई बहिस्कार गर्नु भनेको नेपाली जनतालाई अधिकारबाट बञ्चित गर्नु हो । त्यसैले जनताको अधिकार सुनिश्चित गर्न चुनाव बहिस्कारको कुरा गर्नु उपयुक्त हुदैन ।’ विगतका चुनाव भन्दा यो स्थानिय तहको चुनाव धरै फरक र अधिकार सम्पन्न रहेको बताउँदै अध्यक्ष थापाले सिंहदरबारमा रहेको अधिकार अब जनताको घरदैलोमै पुग्ने भएकाले सबै जनतालाई चुनावमा भाग लिन पर्नेमा जोड दिए ।
मधेशी मोर्चाको मागलाई सम्वोधन गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै अध्यक्ष थापाले चुनाव बहिस्कार गर्ने निर्णय पुर्नविचार गर्न मधेशी मोर्चालाई आग्रह गरे । उनले भने, ‘अझ पनि केही मागहरु आपसमा बसेर समाधान गर्न सकिन्छ । चुनाव बहिस्कार गर्छु भनेर हिड्नु राम्रो होइन ।’
नेपालको राष्ट्रिय एकताको रुपमा राजसंस्था रहेको जिकिर गर्दै अध्यक्ष थापाले जनताको अभिमत विनानै राजसंस्थालाई लत्याउने कार्य भएकाले अहिले मुलुकमा विदेशीको प्रभाव बढ्दै गएको बताए । एकासी प्रतिशत हिन्दु भएको राष्ट्रमा केही ठुला दलले विदेशी डलरको प्रभावमा परेर हिन्दु राष्ट्रको पहिचान मेटाएको अध्यक्ष थापाले आरोप लगाए । ठूला दलहरुको अक्रमण्यताले गर्दा अहिले मधेश र पहाडको बिचमा दुरी बढेको थापाले बताए ।
केही दल जातजाती, भाषा, भुगोलजस्ता विषयलाई लाई लिएर नेपाली जनताबिचको एकतालाई भाडन उद्ध्त रहेकाले सबै सचेत हुनु पर्ने थापाले जोड दिए ।
भेरी अञ्चलस्तरिय भेलालाई राप्रकाका महामन्त्री धवल शमशेर राणा, केन्द्रिय सदस्य फत्तेसिह थारु, कुन्ति शाही, कोमल वली लगाएका नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: