वि.सं.   सोमवार, मंसिर २, २०७६   तदनुसार  18 November 2019

गाउँपालिकाद्वारा आफैँ कानुन बनाएर शिक्षक नियुक्ति

        छापाबाट   |   प्रकाशित मिति: आइतवार, असार ८, २०७६ ।    

मैनापोखर, बर्दिया ।
नयाँ शिक्षा ऐन जारी नहुँदै बढैयाताल गाउँपालिकाले केन्द्र सरकारले बनाएको शिक्षा नियमावली खारेज गरेको छ । बढैयाताल गाउँपालिकाले कार्यान्वयनमा रहेको शिक्षा नियमावली खारेज गरी आफैँ नयाँ नियमावली बनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

नयाँ नियमावलीअनुसार बढैयाताल गाउँपालिकाले २६ शिक्षक समेत नियुक्त गरेको छ । स्थानीय सरकार गठनपूर्वको नियमावली खारेज गरेकोमा कानुनविद् आश्चर्यमा परेका छन् । संसदले बनाएको ऐन अन्तर्गत बनेको नियमावली गाउँपालिकाले खारेज गर्नु हास्यास्पद भएको उनीहरूको तर्क छ ।

स्थानीय सरकारलाई संघ र प्रदेशले बनाएका ऐन–नियमावलीमा टेकेर कार्यविधि बनाउने अधिकार छ । नयाँ ऐन जारी भइनसकेको अवस्थामा शिक्षासम्बन्धी सम्पूर्ण काम शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार हुँदै आएका छन् । गाउँपालिकाले ऐन खारेज गरेपछि शिक्षासम्बन्धी काममा अन्योल थपिएको छ ।

‘संघ र प्रदेशले शिक्षासम्बन्धी नयाँ ऐन र नियमावली जारी गरेका छैनन्, पुरानैले काम गर्नुपर्छ’, जिल्ला शिक्षा समन्वय एकाइ समितिका निमित्त प्रमुख महेशकेशर खनालले भने, ‘नबाझिने गरी कार्यविधि बनाउन सक्छन् । नियमावली खारेज गर्ने अधिकार छैन।’ आफैँले ल्याएका नयाँ नियमावलीअनुसार गाउँपालिकामा २६ शिक्षक राखिएको छ । शिक्षक नियुक्त गर्दा शिक्षा ऐन २०२८ र नियमावली २०५९ को उल्लंघन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...