वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

आगोको भरमा बालबालिका; शीतलहरका कारण तराईको जनजिवन प्रभावित

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, पुस २२, २०७४ ।    

बर्दिया/बाँके । 
कठ्याङग्रिने चिसोमा बिहीबार केही बालबालिका आगो ताप्ने प्रयास गरिरहेका थिए । एकसरो न्यानो कपडा उनीहरूसँग थिएन । आँगनमा रहेको चुलोमा झुम्मिए पनि आगोले न्यानो नभएपछि शरीर कापिरहेको थियो । ‘धेरै जाडो छ । चिसोमा राति सुत्नै सकिँदैन ।
आगो छेउमै बसिरहनुपर्छ,’ चुलोछेउमै बसेकी फुच्ची मगन्ताले भनिन्, ‘तर प्रशस्त काठ पाइँदैन । फोहोरमैला जम्मा गरेर आगो ताप्छौँ ।’

नेपालगन्जको खजुरा रोडको जिल्ला प्रहरी कार्यालयनजिकैको खाली जग्गामा नारायण मगन्ताको झुपडी छ । प्लास्टिक र परालले बेरेको झुपडीमा बिहानबेलुका हातमुख जोड्ने अन्न पनि छैन । परालको ओछ्यान छ । शीत छल्न झुपडीमाथि प्लास्टिकले बेरिएको हो । तर शीतलहरको चिसो हावा भने झुपडीमा सहजै पस्छ । त्यहीँभित्र मगन्ताका तीन छोराछोरीसहित पाँच जनाको परिवार गुजारा चलाउँछन् । दिनभरि मजदुरी गर्छन् । छोराछोरी कवाडी खोज्छन् । ‘जाडो सुरु भएपछि हाम्रो दुस्खको दिन सुरु हुन्छ । ओढ्ने ओछ्याउने केही हुँदैन । त्यसैले आगोको सहारामा बस्नुपर्छ,’ नारायण भन्छन्, ‘दिनमा काम हुँदा चिसो थाहा पाइन्न । तर रातमा सुत्नै सकिँदैन ।’
मगन्ता परिवार काममा निस्केपछि १० वर्षीया सुरती र ९ वर्षीया कल्लु मगन्ता झुपडी कुर्छन् । चिसो छल्न आगो ताप्छन् । चिसोले हैरान बनाएपछि यताउति दौडछन् । ‘कपडा किन्ने पैसा हामीसँग हुने कुरै भएन । दिनभरि कमाउँछौं । त्यसैले पेट भर्छौं,’ उनले भने, ‘गर्मी नहुँदासम्म यस्तै गरीदुस्ख खेप्नुपर्छ ।’

मगन्ताको पुर्खौली पेसा माग्ने नै हो । तर त्यसले गुजारा नचलेपछि मजदुरीमा आएका हुन् । उनीहरूको आर्थिक अवस्था निकै दयनीय छ । न्यानो कपडा अभावमा उनीहरूको जीवन कष्टपूर्ण छ । बाँकेको हिरमिनिया नजिकै करिब पाँच दर्जन मगन्ता परिवार बसोबास गर्छन् । परिवार पाल्न भने उनीहरू नेपालगन्जका खाली जग्गामा झुपडी बनाएर बस्दै आएका छन् । उनीहरूको जीवन झुपडीमा गुज्रँदै आएको छ । नेपालगन्जको तापक्रम बिहीबार ९ दशमलब ६ मा झरेको छ । अत्यधिक तापक्रम १४ दशमलब ५ रहेको नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

सापेक्षिक आद्र्रता (हावामा पानीको मात्रा बढी) बढेका कारण बढी चिसो महसुस गरिएको निमित्त फिल्ड इन्चार्ज पलबहादुर विकले बताए । भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले चिसोका कारण रूघाखोकी, निमोनिया, दम, हल्का ज्वरोको समस्या देखिने बताए । उनका अनुसार चिसो बढदै गएपछि बिरामीको संख्या पनि बढेको छ । ‘चिसो सुरु भएसँगै अस्पतालमा रूखाखोकी, दमलगायत समस्या लिएर बढी आउन थालेका छन्,’ उनले भने ।
जनजीवन प्रभावित
सातायता बर्दियामा अत्यधिक चिसो बढेपछि जनजीवन थप कष्टकर बन्दै गएको छ । करिब सातायता चलेको चिसोसँगै शीतलहरले बाढीपीडित परिवारको जनजीवन कष्टकर बनेको हो । रातिदेखि दिउँसोसम्म लाग्ने हुस्सु र शीतलहरले अस्थायी शिविरमा बस्ने बालबालिका र वृद्धलाई कठ्याङ्गिग्रने जाडोका कारण निमोनिया र दमखोकीले सताएको छ । अस्थायी शिविरमा बस्नेहरू चिसोले कष्टकर जीवन बिताउन बाध्य भएको पीडित गोविन्द खत्रीले बताए ।

गुलरिया ५ रामपुरका बाढीपीडित रातभर जाग्राम बस्छन् । चिसोले शिविरको टहराबाट चिसो हावा पस्दा कठ्याङ्गिग्रँदै बस्नु परेको उनीहरू बताउँछन् । ४३ परिवार पीडित करिब ४ वर्षदेखि यही अस्थायी शिविरमा बस्छन् । सीमान्तकृत बस्तीमा अत्यधिक चिसोले निकै सताएको छ । सदरमुकाम गुलरिया दक्षिण मथुराहरिद्वार क्षेत्रको निम्न आए भएका समुदायको अवस्था पनि उस्तै ।

चिसो बढेसँगै विद्यालयमा विद्यार्थी संख्या पनि घटन थालेको छ । गुलरिया नगरपालिकाले बिहीबारबाट चोकचोकमा दाउरा बाँड्ने जनायो । गत वर्ष नगरपालिकाले समयमै दाउरा खसाले पनि यसपाला ढिलो भएको उनीहरूले बताए । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले ६ नगरपालिका र २ गाउँपालिकालाई दाउरा उपलब्ध गराउने बैठकबाट निर्णय भएको जानकारी दिए । अन्यमा आवश्यक दाउरा दिने उनले बताए ।
– ठाकुरसिंह थारू र कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: