वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

आकस्मिक सेवा ठप्प हुँदा भौरा क्षेत्रका सेवाग्राही मर्कामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५ ।    

पोष्टमार्टमका लागि समेत कैलालीको टिकापुर अथवा जिल्ला अस्पताल गुलरिया लैजानु पर्ने वाध्यता छ ।

मिन अधिकारी/राजापुर, बर्दिया।
भौरा क्षेत्रको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा रहेको इमर्जेन्सी सेवा प्रभावकारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिव २ लाख जनसंख्यालाई स्वास्थ्य सेवा पुर्‍याउने र विशेषज्ञ डाक्टरको समेत व्यवस्था हुने ठाउँमा आमस्मिक सेवा ठप्प भएको छ ।


प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपात हुदाँ पनि स्थानिय तहले खासै चाँसो नदेखाएको, विशेषज्ञ डाक्टर नभएको दरवन्दी र आवश्यक स्वास्थ्यकर्मी नभएको, स्वास्थ्य केन्द्र रकमको अभावमा रहेको लगायतका कारणले आकस्मिक सेवा बन्दझै रहेको प्राथमिक स्वास्थ्य कार्यालय राजापुर प्रमुख तथा नर्सिङ निरीक्षक देवी खनालले बताए । जिल्ला अस्पताल गुलरियामा मात्र आकस्मिक सेवा रहेको र जिल्लामा रहेका ३ वटा अन्य स्वास्थ्य केन्द्रपछि राजापुरमा मात्र आकस्मिक सेवा सञ्चालनमा रहेको थियो । राजापुरवाट नेपालगंजसम्म विरामीलाई पुर्‍याउदा बाटोमा ज्यान पनि जानसक्ने यातायातको असुविधा रहेकाले स्वास्थ्यकर्मीले जसरी त्यसरी सेवा दिए पनि मूल्याङ्कन नहुदा यो समस्या देखा परेको प्रमुख खनालको भनाई छ ।
विरामीलाई सामान्य सेवा दिनु र स्वास्थ्य विमा गरेका सेवाग्राहीको दुखेसो सुन्ने थलो मात्र भएको छ । राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अस्पताल नभएको र दरवन्दी र सञ्चालन गर्ने रकम नहुदा नगरपालिकाबाट मात्र चलाउन समस्या भएको राजापुर नगरपालिका ४ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष रमन कुमार रेग्मीले बताए । स्वास्थ्य मन्त्रालयमा आवश्यकता लेखि पठाएको तर डाक्टर नआउदा समस्या आएको उनको भनाई छ ।
आकस्मिक सेवा मात्र नभएर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा डाक्टर नहुदा पनि स्थानिय तहले तत्काल कुनै प्रभावकारी पहल नगर्न सक्नु भौरा क्षेत्रकै दुर्भाग्य हो । कुनै कारणले विरामीको मृत्यु भएमा पोष्टमार्टमका लागि कैलालीको टिकापुर अथवा जिल्ला अस्पताल गुलरिया लैजानु पर्ने वाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्: