वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

अब्यवस्थित सवारी पार्किङले भुरिगाउँ बजारक्षेत्र अस्तब्यस्त

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, बैशाख १९, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
सदरमुकाम गुलरिया पछिको मुख्य बजारको रुपमा लिईने भुरीगाउँ क्षेत्र अब्यवस्थित सवारी पार्किङले अस्तव्यस्त बनेको छ । ठाकुरबाबा नगरपालिकाको मुख्य बजारक्षेत्र भुरीगाउँमा अटोरिक्सा, पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारी साधन जथाभावी पार्किङ गरिँदा बजारक्षेत्र अब्यवस्थित हुनुका साथै आवागमनमा पनि असहजता हुन थालेको छ ।

मुख्य बजारको राजमार्ग किनारमै अब्यवस्थित रुपले पार्किङ गर्ने, यात्रु चढाउने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको छ । एकातिर बजारको सौन्दर्य गुमेको छ भने अर्कातिर दुर्घटनाको जोखिम पनि बढेको स्थानियहरुको गुनासो छ । उसो त बजारको मुख्य क्षेत्रमा नै बसपार्क भएकाले पनि यो समस्या आएको स्थानियहरु बताउँछन् ।

हाल भने भुरीगाउँमा रहेको बसपार्क तत्काल सार्ने निर्णय गरिएको छ। यस्तै बस व्यवसायी समितिका टिकट काउन्टरसमेत नयाँ बसपार्कमै सार्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । भुरीगाउँ चोकको बसपार्कलाई व्यवस्थापन गर्ने भन्ने विषयमा ठाकुरबाबा नगरपालिकाले स्थानीय यातायात व्यवसायीहरु संग समय समयमा छलफल गर्ने गरेको भए पनि हाल सम्म बसपार्क ब्यवस्थित हुन सकेको छैन ।

यसअघि पनि नगरपालिकाले सवारी साधन व्यवस्थापनका लागि प्रयास गरेको थियो। पहिले पनि बसपार्क सार्ने निर्णय गरिए पनि व्यवसायीले अवरोध सिर्जना गरेपछि प्रयास सफल हुन सकेको थिएन । अहिले अवरोध सिर्जना भए नगरपालिकाले सहजीकरण गर्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...