वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

११ हजार घरमा क्षती, २ को मृत्यु, १ बेपत्ता, हजारौँ विस्थापित: हेलीकप्टरबाट ३ सय २३ जनाको उद्धार

        भावुक योगी   |   प्रकाशित मिति: आइतवार, साउन २९, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
दुई दिन देखि परेको अबिरल वर्षाका कारण बर्दियाको बबई नदीमा भिषण बाढी आएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण बर्दियामा २ जनाको ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन ।
आईतबार दिउँसो घर फर्कदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका ५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको डुबेर ज्यान गएको प्रहरी चौकी बगनाहाले जनाएको छ ।
यसैगरी बाढीका कारण घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका २ सतघरुवाकी ७० वर्षीया साउनी थारुको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रवार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका १० का २९ बर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए ।
बबई नदीको बाढी सदरमुकाम गुलरियामा पसेपछी गुलरीया बजार सहित बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका गाउँ डुवानमा परेका छन् ।

बारबर्दिया-४, रानीपुर

सदरमुकाम गुलरीयाको जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय परिसर, कृष्णसार संरक्षित क्षेत्र पनि जलमग्न भएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण हजारौँ घरपरीवार विस्थापित भएका छन् ।
बाढीबाट विस्थापित भएकाहरु स्थानिय विद्यालय, संघ संस्थामा आश्राय लिएर बसेका छन । बाढीमा फसेकाहरुलाई नेपाली सेना, प्रहरी र स्थानियबासीले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।
आईतबार बिहान बबई नदीको सतह ह्वातै बढेर १० मिटर पुगेको थियो । नदी बढेपछि नदी तटिय क्षेत्रका बासीन्दा रातभर जाग्राम बसेका थिए ।
बाढीका कारण गुलरीया, भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्वारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन । बाढीका कारण सदरमुकाम नेपालगञ्ज गुलरिया र भुरीगाउँ गुलरिया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ ।
बाढीले ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा, बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी, राजापुर नगरपालिका लगायतका वस्तीका हजारौं स्थानीयहरु विस्थापित भएका छन ।
ओराही खोलामा आएको बाढीले ठाकुरद्धारा भुरिगाउँ सडक सम्पर्क समेत टुटेको छ । ओराही खोलाले सयौँ विघा जमिन कटान समेत गरेको छ ।
बर्दियामा अहिले सम्मको प्राप्त जानकारी अनुसार २ हजार १ सय ७३ घर पुर्ण रुपमा क्षती भएको छ भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षती भएको छ । बाढीका कारण १३ हजार घरपरीवारका ७५ हजार जनसंख्या प्रभावित भएका छन ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले दिएको प्रारम्भिक तथ्याँक अनुसार २ हजार १ सय ७३ घर पुर्ण रुपमा क्षती भएको छ । ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षती भएको छ । बाढीका कारण १३ हजार घरपरीवारका ७४ हजार ३ सय २७ जनसंख्या प्रभावित भएका छन ।
जसमध्ये सदरमुकाम गुलरीया नगरपालिकामा बबई नदीको बाढीका कारण सबैभन्दा धेरै घरधुरी विस्थापित भएका छन । त्यसपछी साविकको बानियाभार गाविस हाल बारबर्दिया नगरपालिकामा रहेको छ ।
बर्दियाको गुलरीया नगरपालिकामा १७ सय ५० घर पुर्ण क्षती र २८ सय १२ घर आंशीक रुपमा क्षती भएको छ । बारबर्दियामा ३५० घर पुर्ण क्षती र २५ सय घर आंशीक क्षती भएको छ । ठाकुरबाबा नगरपालिकामा २२ घर पुर्ण क्षती र २०४५ घर आंशिक क्षती भएको छ ।
यस्तै मधुवन नगरपालिाकामा ३ घर पुर्ण क्षती र ४९१ घर आंशिक क्षती भएको छ । राजापुर नगरपालिकामा १५ घर पुर्ण क्षती र ४८५ घर आंशिक क्षती भएको छ । बाँसगढी नगरपालिकामा ११ घर पुर्ण क्षती र ३६९ घर आंशिक क्षती भएको छ ।
यसैगरी गेरुवा गाउँपालिकामा १५ घर पुर्ण क्षती र २०० घर आंशिक क्षती भएको छ । बढैयाताल गाउँपालिकामा ७ घर पुर्ण क्षती र ६० घर आंशिक क्षती भएको छ ।
बाढीबाट विस्थापित भएकाहरु गुलरिया, ठाकुरबाबा, बारबर्दिया, मधुवन र राजापुर नगरपालिकाका विभिन्न विद्यालय, सरकारी कार्यालय, सामुदायिक भवन लगायत सडक किनारमा अस्थायी शिविरमा बसिरहेका छन । हाल शिविरहरुमा ७ सय ८६ घरका ४ हजार ७ सय ७० जना विस्थापितहरु आश्रय लिईरहेको दैवी प्रकोप उद्धार समिति बर्दियाले जनाएको छ ।
वाढीबाट गुलरिया नगरपालिका भित्रका ३५ वटा, बारबर्दिया नगरपालिका भित्रका ११ वटा र वढैया तथा गेरुवा गाउँपालिका भित्रका १÷१ वटा गरी ४८ वटा विद्यालयहरुमा क्षति पुगेको जनाईएको छ । बाढीले धान, मकै लगायतका अन्नवाली र माछा पोखरीहरु बगाउनुका साथै पुरिदिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । बाढीको वास्तविक तथ्यांक आउन अझै केही दिन लाग्ने समितिले जनाएको छ ।

बाढीमा फसेका १५० वालवालिका सहित ३ सय २३ जनाको हेलीकप्टरको सहायताबाट उद्धार

बर्दियाको सदरमुकाम गुलरीयाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरी लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलोकप्टरबाट ३ सय २३ जनालाई उद्धार गरीएको छ ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार १ सय ५२ बालवालिका सहित ३ सय २३ जनालाई सेनाको हेलीकप्टरको सहायताबाट उद्धार गरीएको हो ।
गुलरीयामा रहेको नेपाली सेनाको भैरवप्रसाद गण सुरक्षा गुल्म ब्यारेकमा राखेर उनिहरुलाई तयारी खाना खुवाएर राखीएको छ । बाढीमा फंसेका झण्डै २ सय घर परीवारलाई उद्धार गर्न हेलीकप्टरको माग गरीएपछी उद्धारका लागि हेलीकप्टर आएको हो ।
बाढीमा फंसेकालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीमा फसेकालाई उद्धार गरी सुरक्षित स्थानतर्फ पुर्याएका छन । नेपाली सेनाले डुङ्गा मार्फत पनि उद्धार गरेको छ ।

बबई नदीको बाढी बस्तिमा आउने जोखिम कायमै

बबई नदीमा बाढी आउँदा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाका केही वडा डुबानको जोखीममा छन ।
बबई नदीमा अझैँ पनि खतराको सतह भन्दा माथि पानी रहेकाले दिनभरि नै बाढीको खतरा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो ।
पानीको सतह मापन केन्द्र बबई चेपागंमा विहान साढे आठ बजे पानीको सतह बढेर १० मिटर पुगेको थियो । चेपांगमा पानीको सतह घटदो क्रममा ८.३२ मिटर रहेको भएपनि यो खतराको लेभल नै हो ।
आजपनि भारी वर्षा हुने भएकाले बबई नदीको बाढी गाउँमा आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान र सर्तक भएर बस्न प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गर्नु भएको छ ।
तिन दिन देखि बर्दिया सहित बबई नदीका तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा भारी वर्षा भएपछि बबई नदीमा बाढी आएको हो ।

प्रतिक्रिया दिनुहोस्: